काठमाडौँ -नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो ।
एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । दुई साता अघि अत्याधिक दुखाई भएपछि नेपाल मेडिकल कलेज आएका नवराजको भिडियो एक्सरे गरेर हेर्दा देब्रे साइटको मिर्गौलामा पत्थरी देखिएको थियो ।
त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको देब्रे भागको मिर्गौला पूर्णरुपमा बिग्रिसकेको पाइएको युरोलोजी विभागका कन्सल्टेन्ट यूरोसर्जन डा वेश अन्सारीले बताए । ‘सुरुमा एक्सरे गरेर हेर्दा किड्नीमा पत्थरी देखिएको थियो । पछि सिटी स्क्यान गरेपछि मात्र देब्रे भागको किड्नी पूर्णरुपमा बिग्रिसकेको थाहा पायौँ,’ कन्सल्टेन्ट यूरोसर्जन डा। अन्सारीले भने ।
मिर्गौला पूर्णरुपमा कामै नलाग्ने भइसकेको पाइएपछि डा अन्सारीकै नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरी मिर्गौला निकालिएको थियो । बिरामी दाहाल अप्रेसन भएको तेश्रो दिन नै आफैं हिँडडुल गर्न सक्षम भई अस्पतालबाट डिस्चार्ज भएर जानु भएको थियो । अस्पतालले तत्कालै रोगको पहिचान गरी अप्रेसन समेत गरिदिएपछि बिरामी नवराजले राहतको सास फेरेका छन् ।