

नयाँ दिल्ली- भारतमा एचएमपी भाइरस संक्रमितको संख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ संक्रमित फेला परेका छन् । १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको हाे ।
दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाँहि गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।
एक दिनअघि कर्नाटक र तमिलनाडुमा २/२ जना, पश्चिम बंगाल र गुजरातमा १/१ जना गरी ६ जनामा भाइरसको संक्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् ।
केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन र ह्यूमन मेटापन्यूमोभाइरसको रोकथामबारेमा सचेतना फैलाउन सल्लाह दिएको छ ।
देशका ४ राज्यमा संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका थिए ।