

काठमाडाैं- हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौंमा सुरू भएको छ ।
नेपाल र नेपालजस्ता विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआई फर अल नेटवर्कले (हाइनेट) कन्फ्रेन्सको आयोजना गरेको हो ।
हाइनेट नेटवर्कको सञ्चालक समितिमा तीन चौथाइ सदस्यहरू विकासशील र विकासउन्मुख देशका रहने गर्छन् । सोही अनुरूप हाइनेटले विकासशील देशहरूले स्वास्थ्य सेवाको समस्या पहिचान गरी त्यसलाई स्वास्थ्य एआईको माध्यमबाट समाधान गर्ने उद्देश्य लिएर विस्तृत छलफल गर्न कन्फ्रेन्स आयोजना गरेको हो ।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सिमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरूमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतिर हाइनेट सुरू गरेको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डेले बताए ।
उनका अनुसार स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुराउन स्वास्थ्य एआईले कसरी भूमिका खेल्छ भन्ने विषयमा कन्फ्रेन्समा छलफल हुनेछ । त्यसैगरी नेपालजस्ता विकासशील देशहरूले सहकार्य गरेर स्वास्थ्यमा भएका आफ्ना समस्या पहिचान र स्वास्थ्य एआई विकास गर्न स्वामित्व लिन सहकार्य गर्ने विषय पनि कन्फ्रेन्स केन्द्रित रहनेछ ।