

काठमाडौं- चिसो बढेसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार आज सोमबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ ।
गर्मीका बेला भन्दा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुने विज्ञहरुको भनाइ छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई ३४१ एक्यूआई छ । दोस्रो स्थानमा रहेको भारत, कोलकाताको एक्यूआई २४८, तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्यूआई २३८ छ ।
यसैगरी, चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई २२७ एक्यूआई छ । विज्ञहरुका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरियो सङ्केत दिइन्छ । ५१ देखि एक सयसम्मको एक्यूआईले होसियार रहन सङ्केत गर्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ ।
१५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ ।