एजेन्सी- कोरोना भाइरसको उद्गम विन्दु मानिएको चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । कोरोना महामारी फैलिएको ५ वर्षपछि देखिएकाे याे भाइरसकाे लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ ।
नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) हो, जुन नयाँ आरएनए भाइरस हो । भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ । यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको अधिकारीहरूले जनाएका छन् ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिनेजस्ता लक्षण देखिने गरेका छन् ।
एचएमपीभीसँगै इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोभिड–१९ को बिरामी पनि देखिइरहेका छन् । यस्ता बिरामीको संख्या लगातार बढिरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । द स्टारको रिपोर्टअनुसार सीडीसीले पहिलेदेखि नै अस्थमा र क्रोनिक अब्ट्रक्टिभ पल्मोनरीजस्ता रोगसँग जुधिरहेका बिरामीलाई संक्रमणको खतरा बढी हुने जनाएको छ । भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्छ ।
सामाजिक सञ्जालमा बिरामीको भिडभाडको तस्बिर पोस्ट गर्दै भाइरस फैलिएपछि केही स्थानमा संकटकाल लगाइएको दाबी गरिएको छ । चीनले भने नयाँ भाइरस फैलिएकोबारे कुनै आधिकारिक जानकारी भने दिएकाे छैन । रोयटर्सका अनुसार चीनले यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ ।
एचएमपीभी भाइरसको पहिचान पहिलो पटक २००१ मा भएको थियो । एक डच शोधकर्ताले श्वासप्रश्वासको रोगीको नुमना लिएर भाइरस पत्ता लगाएका थिए । यो भाइरस ६ दशकअघिदेखि रहेको बताइएको छ । यो भाइरस सबै मौसममा जीवित रहनसक्छ ।