काठमाडौं– आगामी माघ २२ गतेदेखि पाठेघरकाे मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीले निःशुल्क पाउनेछन् । यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
अभियानका लागि अहिलेसम्म १४ लाख ९७ हजार भाइल खोप आइसकेको उनले बताए । अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ ९गाभी० को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको एचपीभी खोप आएको मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको हो ।
डा गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी गराए । उनले नेपालमा हरेक दिन ४ जनाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने बताए । ‘हरेक वर्ष ५ लाख ७० हजार पाठेघरको मुखको क्यान्सरका बिरामी नेपालमा रहेका र सन् २०३० सम्ममा ७ लाखको हाराहारीमा पुग्ने अनुमान गरिएको छ’ –गौतमले भने ।
एचपीभी खोप लगाएका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोकथाम हुने, ९० प्रतिशत नियन्त्रण हुन्छ र ९० प्रतिशत सफलता मिल्छ भनी नेपाली थ्री नब्बे अभियानको नाम दिएको छ । यही अभियानमा विश्वका १ सय ४४ मुलुक अभियानमा जुटिसकेका छन् । नेपालमा हाल प्रति १ लाख महिलामा १६ जनामा पाठेघरको मुखको क्यान्सर भएको छ ।
यो खोप २०७२ साल देखि ०७४ सम्म चितवन र कास्कीमा परीक्षण गरिएको थियो । उक्त परीक्षणको पहिलो वर्ष शतप्रतिशतमा सफल भएको र दोस्रोमा झन्डै ९८ प्रतिशतमा सफल भएको थियो ।
किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रित हुने डा. गौतमले बताए । ‘खोप अभियान चल्छ, १८ हजार ९ सयवटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालयबाहेकका स्वास्थ्य संस्थाहरूमा पनि खोप चल्छ । थप ८ हजार २ सयवटा यस्ता केन्द्र तोकिएको छ उनले भने ।
डा गौतमका अनुसार खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० जना स्वयंसेवक, १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालन गरिन्छ । प्रदेश स्तरको तालिम सम्पन्न भइसकेको छ । अभियानका लागि १७ हजार ८ सय ४३ वटा सेफ्टी बक्स प्रयोग हुनेछ ।
सरकारले यसपटक यो खोप अभियानका रूपमा सञ्चालन गर्ने र अर्को वर्षबाट नियमित खोपको सूचीमा राखिसकेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्दका निर्देशक केशवराज पण्डितले बताए ।