

धादिङ – उत्तरी धादिङको नेत्रावती डबजङ्ग गाउँपालिकास्थित–५ मा निर्माणाधीन स्वास्थ्य चौकी भवन निकै लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ। जसले गर्दा स्थानीयलाई प्रदान गर्ने स्वास्थ्य सेवा समेत प्रभावित भएको छ ।
पुननिर्माण प्राधिकरणले गरेको बेवास्ताका कारण भवन निर्माणको काम हुन नसकेको हो । जिल्लामा प्राधिकरणले ठेक्का लगाइ निर्माण गरेको अन्य स्वास्थ्य चौकी भवनको अवस्था पनि अलपत्र छ।
भवन कटुन्जेमा पुन निर्माण प्राधिकरणले पाँच वर्ष अघि ठेक्का लगाइ निर्माणको काम सुरु गरेको हो। निर्माण कार्य बीचैमा रोकी निर्माणको जिम्मा दिइएको ठेकेदार कम्पनी समेत सम्पर्कविहीन भएपछि निर्माण कार्य अधुरो रहेको हो ।
हरेक वडामा स्वास्थ्य चौकी स्थापना गरी स्थानीयले सुविधा सम्पन्न भवनबाट सेवा पाउने भन्दै निकै खुसी भएकोमा अब भने भवन निर्माणको कामले पूर्ण नपाउने भन्दै निराश बनेका छन् ।
पुरानो भवन भूकम्पका कारण भत्किएपछि उपचारका लागी आएका बिरामीलाई सेवा दिन समेत निकै समस्या भएको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको भनाइ छ ।
जिल्लामा पुननिर्माण प्राधिकरण ठेक्का लगाइ निर्माणाधीन अवस्थामा रहेको आधा दर्जन स्वास्थ्य चौकी भवनको अवस्था अहिले यस्तै अलपत्र रहेको छ। भवन नहुँदा ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकीबाट बिरामीहरूलाई प्रधान गरिने सेवा सहज तरिकाबाट प्रधान गर्न सकिएको छैन ।
कटुन्जे स्वास्थ्य चौकीको भवन निर्माणका लागी पुनःनिर्माण प्राधिकरणले एम बिल्डर्स नामक निर्माण कम्पनीलाई ६ करोडको लागतमा २०७६ सालमा अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा दिइएको हो ।
भवन निर्माणको काम बीचैमा छाडेर निर्माण कम्पनी भागेपछि न त सो निर्माण कम्पनीसँग पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता तोडेको छ न त भवन निर्माणको कामले नै गति लिएको छ ।
भवन निर्माणस्थल वरपर झाडी बनेको छ भने बनेका संरचनाहरू पनि भत्कन सुरु भईसकेको छ। अधुरो भवनको पनि संरक्षण हुन सकेको छैन ।
कटुन्जेमा रहेको स्वास्थ्य चौकीबाट नेत्रावती गाउँपालिकाको पश्चिम क्षेत्रका स्थानीय मात्रै नभई उत्तरी धादिङको खनीयावासका स्थानीयले समेत सेवा लिने गरेका छन् ।