काठमाडाैं- नेपाल क्यान्सर हस्पिटलले इन्टरभेन्सनल पल्मोनोलोजीबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । वर्तमान परिप्रेक्ष्यमा इन्टरभेन्सनल पल्मोनोलोजीले क्यान्सरका बिरामीलाई गर्नसक्ने मद्दतबारे साे कार्यक्रममा छलफल गरिएकाे थियाे ।
अस्पतालको इन्टरभेन्सनल एण्ड मेडिकल पल्मोनोलोजी विभागले आयोजना गरेको कार्यक्रममा विभागले हालसालै नेपालमा पहिलाेपटक सफलतापूर्वक सम्पन्न गरेको क्रायोसर्जरी उपचारकाबारेमा प्रकाश पारेकाे थियाे । साथै नेपालमा हाल नवजात अवस्थामा रहेको इन्टरभेन्सनल पल्मोनोलोजी विधाले दिनसक्ने सेवाका बारेमा जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा मन्तव्य दिंदै अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले इन्टरभेन्सनल पल्मोनोलोजीको अभ्यासले हरेक स्टेजका क्यान्सरका बिरामीलाई राहत मिल्ने र यसको अभ्यासलाई अझ परिष्कृत गर्दै लाने नेपाल क्यान्सर हस्पिटलको प्रतिवद्दता रहेको बताए । उनले नेपाल क्यान्सर हस्पिटलले नवीन उपकरण र प्रतिभाको विकास गर्दै विश्वस्तरीय सेवा नेपालमै दिंदै “नेपालीको क्यान्सर उपचार नेपालमै” भन्ने अस्पतालको सिद्दान्त आत्मसात गरेको जानकारी गराए ।

कार्यक्रममा अस्पतालका इन्टरभेन्सनल पल्मोनोलोजिस्ट डा. विश्वाश शर्माले कुनै ठुलो घाउ नपारिकन दुरबिनका माध्यमबाट गरिने इन्टरभेन्सनल पल्मोनोलोजीका प्रक्रियाहरूले बिरामीहरुको श्वासनली एवं स्वासप्रश्वास प्रणालीका अन्य भागहरुमा भएका गिर्खा, ट्युमर तथा अन्य अवरोधहरुलाई हटाउने कार्य गरी तत्काल राहत दिनसक्ने कुरामा प्रकाश पारे । यस्ता ट्युमर तथा अन्य अवरोध हटाई बिरामीको जीवनको गुणस्तरमा समेत धेरै सुधार आएका हालसालैका केहि केसहरुबारे उनले व्याख्या गरे ।

यी प्रोसिजरहरुमा प्रयोग भएका उपकरणहरुका बारेमा प्रकाश पर्दै आरबिमर्चेन्टका तर्फबाट सुमन लोहलाले क्रायोसर्जरी (ErbeCryo2) मेशिनका बारेमा जानकारी दिंदै श्वासनली एवं स्वासप्रश्वास प्रणालीका अवरोध हटाउन यस मेशिनले द्रुतरुपमा लक्षित तन्तुहरूलाई चिस्याउने कार्य गरि हानिकारक एवं क्यान्सरजन्य तन्तुहरूलाई मार्ने काम गर्ने र अत्यन्त चिसो भएकाले ती मरेका तन्तुहरु क्रायोसर्जरी उपकरणको टुप्पोमै टाँसिने भएकाले निकाल्न सजिलो हुने बताए ।
यसका साथै माइक्रो टेकका इन्डोस्कोपी एवं ब्रोङ्कोस्कोपीका कन्जुमेबल्सका बारेमा बोल्दै उपमा बस्नेतले क्रायोसर्जरी एवं अन्य इन्टरभेन्सनल प्रक्रियाहरुपछि ट्राकियल स्टेन्टजस्ता उपकरणले बिरामीको जीवनको गुणस्तर कायम राख्न ठुलो भूमिका खेल्ने बताए । कार्यक्रममा अम्बु इन्डियाका तर्फबाटसुनिल सिंहले अम्बु कम्पनीका पोर्टेबल ब्रोङ्को स्कोपले ब्रोङ्को स्कोपीमा सामान्य जनताको पहुँच बढाएको कुरा बताए ।