
काठमाडौं, ७ मंसिर । पश्चिम एशियाली क्षेत्रको फोरम फर इथिकल रभ्यू कमिटि इन द एशिया एण्ड वेस्ट्रेन प्यासिफिक रिजन ( फेरक्याप) को २४ औं शिखर सम्मेलन नेपालमा हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सम्मेलन मंसिर ९ गते देखि १२ गतेसम्म राजधानीमा आयोजना गर्न लागिएको हो । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा परिषद्ले सम्मेलनका बारेमा जानकारी दिएएको हो । सम्मेलनलाई ‘म्याक्सिमाइजिंग बेनिफिट थ्रु रेस्पोन्सिवल कनडक्ट अफ रिसर्च’ नारा दिइएको छ ।
सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माता, प्राज्ञिक प्रतिनिधि र विद्यार्थीहरु सहभागी हुने परिषदले जनाएको छ । कार्यक्रमको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा विश्वका विभिन्न २३ देशका २ सयभन्दा धेरै अनुसन्धाता र सरोकारवाला सहभागी हुने परिषद्ले जानकारी दिएको छ । सो क्रममा अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त ३ सय भन्दा धेरै एब्सट्रयाक्टबाट ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतिकरण छनोट गरिएको छ ।
सो मध्ये ६१ वटा प्रस्तुतिकरण अन्तराष्ट्रिय विज्ञहरुबाट हुने भने २९ वा प्रस्तुतिकरण देशका विज्ञहरुबाट गरिने परिषदका सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए ।
हेरौं भिडियो



