

काठमाडौं- स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले केही अस्पतालको लापरबाहीले तथा जनचेतनाको कमिले स्वास्थ्य बिमा नविकरण गर्नेको संख्या घट्दै गइरहेको बताएका छन् । आगामी मङ्सिर २५ गते आफ्नो चार वर्षे कार्यकाल पूरा हुनलागेको सन्दर्भमा आज आयोजित प्रगति विवरण सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य बिमा ऐन २०७४ र स्वास्थ्य बिमा नियमावली २०७५ ले गरेको व्यवस्थालाई कार्यान्वयन नगर्ने ७४ वटा संस्थालाई कारबाही गरी सूचीबाट हटाएको जानकारी दिए ।
उनले नियमित अनुगमनका लागि अनुगमन सदस्य गठन गरिएको पनि जानकारी दिए । कार्यविधिको मापदण्ड अनुसार विभिन्न अस्पताललाई सूचीकरण गर्ने कार्य गरिएको उनको भनाई छ ।
अहिले अनिवार्य रुपमा स्वास्थ्य बिमामा आवद्ध हुनुपर्ने नीति छैन । त्यस्तो कार्यको लागि आवश्य अनुगमन भएको उनी बताउँछन् । उनका अनुसार अहिले ४० प्रतिशत घर परिवार बिमामा आवद्ध रहेका छन् ।
स्वास्थ्य बीमा बोर्डले आउने वर्षको लागि १४ वटा नीति तथा कार्यक्रम राखिएको बसौलाले बताए । साथै उनले अहिलेसम्म स्वास्थ्य विमाले ऐन नियममा तोकिएअनुसार भुक्तानी दिइरहेको बताए ।
बसौलाले विभिन्न क्षेत्रबाट तलब खाने व्यक्तिहरूको तलबबाट १ प्रतिशत काट्ने र १ प्रतिशत रोजगार दाताले दिने, सामाजिक सुरक्षाका कार्यक्रमहरू बिमामा ल्याउने, अनिवार्य रुपमा स्वस्थ्य बिमामा आवद्ध गर्ने, स्वस्थ्य सम्बन्धि क्षेत्रमा लाग्ने करको केही अंश स्वास्थ्य बिमामा लगानी गर्ने, कार्यको नीति निर्माण गरेर कार्य गरियो भने स्वास्थ्य बिमा कार्यक्रमलाई पाँच लाखसम्म पुर्याउन सकिने धारणा व्यक्त गरे ।
उनका अनुसार अहिले स्वास्थ्य बिमालाई प्रत्येक वर्ष सरकाले साढे सात अर्ब सहयोग गरिरहेको छ । यो विकास भएर आफैँ चल्न सक्ने भएपछि सरकारले अनुदान दिनु नपर्ने र सरकारलाई स्वास्थ्य बीमाले हेर्ने अवस्था सिर्जना हुने उनको दाबी छ ।
स्वास्थ्य बीमा बोर्डले नीति तथा कार्यक्रमको आधारमा बजेट तर्जुमा गर्ने गरेको छ । आव ०८१/०८२ मा १२ वटा बुँदालाई आधार मानेर बजेट तर्जुमा गरेको छ । ०७२ सालबाट ०८१ सालसम्म आइपुग्दा आठौं स्वास्थ्य बीमा दिवस मनाइसकिएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको चार वर्षे कार्यकाल आउँदो मंसिर २५ गते समाप्त हुँदैछ ।



