

जेनेभा- संयुक्त राष्ट्रसंघले शुक्रबार युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन आगामी साता सुरु हुने अभियान पहिलो चरणभन्दा ‘अझ जटिल’ हुने बताएको छ ।
राष्ट्रसंघको स्वास्थ्य र बालबालिकासम्बन्धी एजेन्सीहरूले सोमबारदेखि गाजाभर १० वर्षमुनिका करिब पाँच लाख ९१ हजार सात सय बालबालिकालाई फलो–अप मात्राहरू प्रदान सुरु गर्न तयारी गरिरहेको बताएका छन् ।
यो सेप्टेम्बर १ देखि १२ सम्म कार्यान्वयन गरिएको पहिलो खोप चरणको अनुसरण हो । यसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्यालेस्टिनी क्षेत्रका प्रतिनिधि रिक पिपरकोर्नले शुक्रबार ‘एउटा विशाल उपलब्धि’ भनेर प्रशंसा गरे ।
घेराबन्दीमा परेको गाजा पट्टीमा २५ वर्षमा पहिलो पटक पुष्टि भएको पोलियो केस रिपोर्ट गरिएपछि खोप अभियान सुरु भएको थियो ।
अघिल्लो चरणजस्तै आगामी अभियान तीन चरणमा हुनेछ । यसमा लडाइँमा स्थानीयकृत ‘मानवीय विराम’ को सहयोग लिएर पहिला मध्य गाजामा, त्यसपछि दक्षिणमा र अन्तिममा क्षेत्रको पहुँच गर्न सबैभन्दा कठिन उत्तरी भागमा खोप प्रदान गरिनेछ ।
जेरुसेलमबाट भिडियो लिङ्कमार्फत बोल्दै पिपरकोर्नले पत्रकारहरूलाई अभियानको दोस्रो चरण सुरु गर्न तयार सयौँ टोलीहरूप्रति आफूलाई ‘विश्वास’ भएको बताए ।
यद्यपि उनले ‘उत्तरमा भएका घटनाक्रमबाट चिन्तित’ रहेको स्वीकार गर्नुभयो । त्यहाँ इजरायलले आफ्नो कारबाही नाटकीय रूपमा बढाएको छ र खाली गर्ने आदेशहरूको शृङ्खला जारी गरेको छ ।


