काठमाडाैं- २०१६ साल भदौ १० गते स्थापना भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले पछिल्लो एक वर्षमा २२ हजार ३ सय ७९ जनाले प्रसुति सेवा दिएको छ । थापाथलीस्थित उक्त अस्पतालले आफ्नो ६५औं वार्षिकोत्सव मनाइरहदा उक्त विवरण सार्वजनिक गरेको हो ।
यस्तै २०६८ सालदेखि सञ्चालित देशकै पहिलो सरकारी आईभीएफ सेवामार्फत हालसम्म ५८ जनालाई सेवा दिएको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ९ हजार ११ जनाले निःसन्तान सम्बन्धी सेवा लिएका थिए । जसमध्ये २२२ जनाले आईयूआई सेवा र २० जनाले आईभीएफ सेवा लिएका छन् ।
४० बेडबाट सुरु भएको अस्पतालले हाल ४ सय ८९ बेडबाट सेवा दिइरहेको उनले बताए । अस्पतालमा नेपालकै पहिलो नियोन्याटल स्क्रिनिङ कार्यक्रम समेत सञ्चालनमा छ। २०७९ सालदेखि अस्पतालले नेपालकै पहिलोपटक ह्युमन मिल्क बैंक सञ्चालनमा ल्याएको डा अधिकारीले जानकारी दिए । उनका अनुसार २०८१ जेठ १ गतेदेखि गर्भअवस्थाको शिशुको मुटुको जाँच ईको सेवा पनि सुरू भएकाे छ । त्यस्तै अस्पतालमा २९ साउनदेखि नवजात शिशुको बंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ्ग सेवा सञ्चालनमा ल्याएको निर्देशक डा. अधिकारीले बताए ।
प्रसुति अस्पताल व्यवस्थित : स्वास्थ्य मन्त्री पौडेल
अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रसुति अस्पताल तुलनात्मक रुपमा व्यवस्थित रहेको बताएका छन् । उनले देशभरकै प्रसुति तथा महिला स्वास्थ्यको नेतृत्व गर्नेगरी संरचना बनाउन तयारी गरेको बताएका छन् ।