काठमाडाैं- क्वाटी विशेषगरी नेवारी परिकारमा पर्छ । विशेष गरेर जनै पूर्णिमाको दिनमा याे खाने गरिन्छ । यसले एक छुट्टै पहिचान बोकेको छ । सुरूमा बर्खायाममा खेती गरेर शरीरमा चिसो लागेको हुन्छ भनेर त्यसलाई क्वाटीले हटाउँछ भन्ने मान्यताका साथ क्वाटी खाने गरियो । पछि त्यो परम्पराको रूपमा स्थापित हुन पुग्यो ।

‘क्वा’ को अर्थ तातो ‘ति’ को अर्थ सुप वा झोल भन्ने अर्थ दिने नेपाल भाषाको क्वातिबाट अपभ्रंस भएर क्वाटी बनेको हो । जसको अर्थ तातो सुप भन्ने हुन्छ । यो गोडागुडिको मिस्रण हो, जसलाई टुसा उम्रिनेगरी भिजाइएको हुन्छ । क्वटीमा केराउ, बकुल्ला, चना, मुँग, केराउ, मास, भटमास लगायत नौ प्रकारका गेडागुडी समवेश गरिन्छ ।
जनै पूर्णिमाको दिन क्वटी खानको लागि त्यसको दूई दिन अघी गेडागुडि भिजाएर त्यो भिजेको गेडागुडीलाई सफा सुतिको कपडामा पोको पारेर राखेपछि टुसा उम्रिएको क्वाटी तयार हुन्छ । यसले पाचन प्रकृयामा सहजता ल्याउँछ ।

सामान्य अवस्थामा दाल, गेडागुडी खाँदा पेटमा ग्यास भरिने सम्भावना हुन्छ। तर टुसा उमारेर वा क्वाटी बनाएर खाँदा ग्यास भरिँदैन । टुसा उमारेको गेडागुडी खाँदा हाम्रो शरीरलाई आवश्यक मात्रामा क्याल्सियम, प्रोटीन र फाइबर प्राप्त हुन्छ । क्वाटीलाई हाम्रो चाहाना अनुसार विभिन्न तरिकाले खान सकिन्छ ।
डा. अरुणा उप्रेतीका अनुसार यस्ता छन् क्वाटीका फाइदा
– कुपोषण लागेका गर्भवती महिला तथा बालबालिकालाई प्रोटीनको मात्रा पूरा गर्छ ।
-प्रोटीनको मात्रा कम भएर रक्त अल्पता भएका व्यक्तिलाई रक्तअल्पताबाट रोक्न सहयोग पुर्याउँछ ।
-गर्भवती महिलामा रगतको मात्रा बढाउँछ ।
– शाहाकारी व्यक्तिहरूको लागि माछा मासुबाट पाउने भिटामिन लगायतका अन्य आवश्यक तत्वहरू पूरा गर्छ ।
– बिरामी भएर निको भएका तर उठ्न वा तंग्रिन नसकेका व्यक्तिलाई विशेष शक्ति दिई व्यक्तिलाई छिटो उठ्न सहयोग गर्छ ।
-हाम्रो शरीरलाई आवश्यक पर्ने उर्जा दिन्छ ।
– विभिन्न रोगसँग लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
-कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।







