काठमाडौं । हिजोआजको जीवनशैली र खानपानका कारण धेरै मानिस मोटोपनाको शिकार भएका छन् । अनियन्त्रित रुपमा मानिसको पेट बढ्दा धेरै रोगले मानिसलाई सताउने गरेको छ । मोटोपनाका कारण उच्च रक्तचाप, मुटुरोग, मधुमेह, थाइराइडजस्ता कयौं दीर्घरोगको शिकार भइन्छ ।
मोटोपनालाई कसरी नियन्त्रण गर्ने त ? मोटोपना नियन्त्रण गर्न मुख्यगरि हामीले हाम्रो दैनिक खानपान सुधार्नुका साथै नियमित व्यायाम गर्नुपर्ने हुन्छ । यस बाहेक शरीरको तौललाई सन्तुलनमा राख्नका लागि विभिन्न विधिहरु अपनाउन सकिन्छ ।
भोक लागेको महसुस भएको केहि बेरपछि मात्र खाना खाने जसको कारणले गर्दा हाम्रो शरीरमा भएको बोसो बिस्तारै कम हुँदै जान्छ र मोटोपन घट्न सहयोग गर्छ ।
बेलुकाको खाना खाइसकेपछि बिहानको खाना खाने समयको फरक कम्तिमा पनि १४ घण्टा राख्नुपर्छ । त्यसको लागि बेलुकाको खाना ६ बजे खाएको छ भने बिहानको खाना ९ बजे खान सकिन्छ ।
हामीले सामान्यतया खाइरहेको खाना भन्दा १-२ गाँस खाना कम खाने त्यसो गर्नाले हाम्रो शरीरमा अनावश्यक बोसो जम्न पाउँदैन । खानामा कार्बोहाइटेडको मात्रा कम गर्न प्रयास गर्नुपर्दछ । बाहिर बजारमा पाइने खानेकुरा कम खाने वा सकेसम्म खाँदै नखाने गर्नाले पनि शरीरको आहार र तौल नियन्त्रणमा रहन्छ ।
त्यस्तै बिहान खाली पेटमा कागती पानीमा मह मिसाएर पिउन पनि सकिन्छ । फलफूल र विशेषगरि अमिलो प्रकारका फलफुल, साग, सलाद, तरकारी प्रशस्त मात्रामा खानुपर्दछ ।
यसो गर्नाले हाम्रो शरीरमा थुप्रिएको अनावश्यक क्यालोरी र कार्बोहाइटेड नियन्त्रण हुन्छ र शरीरको तौल सन्तुलित रहन्छ ।