चितवन- मेडिकल सिटीको रूपमा विकास हुँदै गरेको भरतपुरमा काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको अब २ वटा शाखा सञ्चालमा आउने भएको छ ।
२०६० सालदेखि नारायणगढ पुल्चोक शाखाबाट आफ्नो सेवा दिदैं आएको कान्तिपुर डेन्टल कलेजले सेवा विस्तार गर्दै शनिवारबाट भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट गेट अगाडीबाट समेत सेवा सञ्चालन गर्न लागेको हो ।
दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस कलेजले दन्त चिकित्सा सम्बन्धी विश्वस्तरीय सेवा चितवनबाट समेत दिने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न दोस्रो शाखा सञ्चालनमा ल्याइएको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

उच्चस्तरीय सेवा दिने उद्देश्यले नारायणगढ पुल्चोक शाखा समेत नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको उनले बताए । विज्ञ सहितको सम्पूर्ण दन्त विशेषज्ञ सेवा उपलब्ध रहेको उनले जनाए । अन्तराष्ट्रिय स्तरको सेवा दिने हिसावले यसको तयारी गरीएको उनको भनाइ छ । चितवनमा उपचार गर्न सम्भव नभएमा आवश्यकता अनुसार काठमाडौंमा लगेर भएपनि उपचार गरिने उनले बताए ।
नेपालमा दन्त स्वास्थ्य सम्बन्धी उपाचार गर्ने दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमी र स्तरीय उपचार गर्ने संस्थाहरुको अभाव भएको महसुस गरेर नै कान्तिपुर डेन्टलको स्थापना गरिएको अध्यक्ष डा. श्रेष्ठको भनाइ छ । हामीले मुख तथा दन्त रोगलाई वेवास्ता गर्दा धेरै प्रकारको रोग लाग्न सक्छ । नेपाली जनमानसले यसबारेमा अझै बुझिसकेका छैनन् । विज्ञका अनुसार यसबाट मुटु, पाचन प्रणाली, मधुमेह, गर्भवती महिला र बच्चालाई प्रत्यक्ष रुपमा असर पु¥याउने गर्दछ ।








