

जनकपुर- जनकपुरको श्री जानकी आँखा अस्पताल फेरि विवादमा तानिएको छ । केही दिनयता अस्पतालमा तालाबन्दी भएको छ । तालाबन्दीका कारण चिकित्सकीय सेवा प्रभावित भएको छ ।
केही राजनीतिक दलका स्थानीय नेता-कार्यकर्ताहरूले अस्पताल सुधारका लागि दबाब सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलीय तथा सर्वपक्षीय समितिले अस्पताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड गरेपछि विवादले झन् उग्र रूप लिएको छ ।
अहिले दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । सर्वपक्षीय समितिले अस्पताल भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाएको छ भने अस्पताल पक्षले व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाइएको आरोप लगाएको छ । विवादका बीच दुवै पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आ-आफ्नै जिकिर गरेका छन् । रेडक्रस धनुषाका सभापति एवं जानकी आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले अस्पताललाई गोजीको संस्था बनाउनुका साथै भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।
रेडक्रसका कोषाध्यक्ष एवं समितिमा समेत रहेका धीरेन्द्रमोहन झाले वर्तमान रेडक्रस सोसाइटीको धनुषा समिति नै अवैधानिक रहेको दाबी गरे । उनले सिंह अगाडि सभापति बनेका गंगाराम यादव ७७ नियमावली अनुसार बनेको अवस्थामा उनीपछि सभापति बनेका सिंह ७५ को नियमावलीलाई टेकेर सभापति कसरी बने ? भन्दै प्रश्न गरे ।
यता सर्वदलीय सर्वपक्षीय समितिका संयोजक रामसिंह यादवले अस्पतालमा कार्यरत चिकित्सकमाथि श्रम शोषणसमेत भइरहेको आरोप लगाए । उनकाअनुसार ५ वर्षअघि छात्रवृत्तिमा टिचिङ अस्पतालबाट एमडी अध्ययन सकेर आएका डा. अमित यादवले जानकी आँखा अस्पतालमा काम गर्न सुरु गरे । त्यसबेला जानकी आँखा अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. विजयकुमार सिंह थिए । डा. यादवले २ वर्षको करार सम्झौताको आधारमा काम सुरु गरेका थिए । उक्त करारको अवधि समाप्त नहुँदै डा. सिंहको पदावधि समाप्त भयो ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ । तर, सोही नियमावलीमा पहिलो संशोधन २०७७ मा सञ्चालन समिति ७ सदस्यीय हुने व्यवस्था गरिएको हो । नियमावलीको व्यवस्था अनुसार सञ्चालन समितिमा रेडक्रसले नियुक्त गरेको अध्यक्ष र कोषाध्यक्ष हुने व्यवस्था छ । त्यसैगरी, रेडक्रसका जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । समितिका निवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था गरिएको छ ।
अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह, रेडक्रस धनुषाका अध्यक्ष रहेको नाताले पदेन उपाध्यक्ष पनि छन् । सिंहले नियमावलीअनुसार निवर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनका नजिककका पूर्वअध्यक्ष डा. विजय सिंहलाई पदेन सदस्यमा राखेका छन् । सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एकलौटी निर्णय गर्दै आएको र अस्पताललाई गोजीको संस्था बनाएको आरोप लगाइएको छ ।
यता आँखा अस्पतालका अध्यक्ष नरेश सिंहलगायतका अस्पताल प्रशासन पक्षले सम्पूर्ण आरोपको खण्डन गरेको छ । आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले यो अस्पतालको अध्यक्ष विनोद शर्मा, डा. विजय सिंह, गंगाराम यादवपछि मात्रै आफू अध्यक्ष भएको भन्दै यसले अस्पताल गोजीको संस्था नरहेको प्रमाणित गर्ने बताए । साथै गंगाराम यादव निर्वाचित अध्यक्ष नरहेको र डा. विजय सिंह निर्वाचित पूर्वअध्यक्ष रहेकाले उनीहरूलाई निवर्तमान अध्यक्षको नाताले पदेन सदस्य राखिएको उनले बताए ।झाले रेडक्रसविरुद्ध जथाभावी अनर्गल प्रचारबाजी गर्नुका साथै अस्पतालको गरिमा तल झार्ने काम गरिरहेको आरोप उनले लगाए ।
आँखा अस्पतालका प्रमुख डा. आशिष बोहोराले कुनै पनि चिकित्सक वा कर्मचारीलाई बलजफ्ती हटाउन लागिएको आरोप बेतुकको रहेको दाबी गरे । उनले डा. अमित यादव इन्टर्न गर्न आएको र उनको अरार अवधि नथप्ने निर्णय भएपछि आन्दोलनको रूप दिइएको आरोप लगाए । डा. यादवले आँखा अस्पतालमा आउने बिरामीलाई रेफर गर्ने, वैकल्पिक पूर्जीको प्रयोग गर्नेलगायतका क्रियाकलापमा लागेकाले पनि करार अवधि नथप्ने निर्णयमा पुगेको उनको भनाइ छ ।
यसका साथै डा. रञ्जना ठाकुरलाई मधेशको स्वास्थ्य मन्त्रालयले आँखा अस्पतालमा २९ साउन २०८० मा काजमा खटाएको र पछि मन्त्रालयले नै काज फिर्ता लिएको डा. बोहोराले बताए । बोहोराले अस्पतालको खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपसमेत निराधार रहेको दाबी गरेका छन् ।


