

धनकुटा : धनकुटाको सहिदभूमि गाउँपालिका ७ गैरीटोलमा विषाक्त जंगली च्याउ खाँदा सात जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा स्थानीय एकै परिवारका रहेको प्रहरीले जनाएको छ ।
जसमा ६३ वर्षीया इन्द्रकमला राई, ५५ की दिलमाया राई, ३६ की टेकमाया राई ३९ की मदनकुमारी राई, ४१ का थमनसिं राई, १८ का हेमन राई र १९ वर्षीया यमुना राई रहेको जनाइएको छ । उनीहरुले जंगलबाट च्याउ ल्याएर बुधबार राति पकाएर खाएपछि बिरामी भएका हुन् ।
बिरामी सबैलाई बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । अस्पताल स्रोतका अनुसार बिरामी सबैलाई वान्ता हुने लक्षण रहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । अघिल्लो साता पनि जंगली च्याउ खाएर धनकुटामा तीन जना बिरामी परेको प्रहरीको भनाइ छ ।


