
काठमाडौं स् डा. गोविन्द केसीले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
उनले विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि अनसन सुरु गर्ने चेतावनी दिएका हुन् । उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।
‘चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ भन्ने जानकारीमा आएकाले आयोगका सबै सदस्य महानुभावहरूलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्नु हुन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै त्यसलाई सम्बन्धन दिन नहुने लगायतका माग गर्दै केसी विगतमा अनसन बस्दै आएका थिए । तर गत चैत १२ गते न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो ।