काठमाडौँ, २२ फागुन । नवौं फर्मा एक्स्पोको पूर्वसन्ध्यामा औषधि क्षेत्रका सरोकारवालाले मुलुकलाई केही वर्षभित्रै औषधिको आत्मनिर्भरता बढाएर ८० प्रतिशत पुर्याउने लक्ष्यका बारेमा छलफल गरेका छन् भने राष्ट्रिय कम्पनीहरुले अपेक्षाकृत प्रगति हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
स्वास्थ्य पत्रकार मञ्च, नेपालले सोमवार आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा औषधि उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधानले केहीवर्ष भित्र औषधिको आत्मनिर्भरतालाई बढाएर ८० प्रतिशत माग स्वदेशी उत्पादनले नै धान्ने आफुहरुको योजना रहेको सुनाए । तथापी, उनले नेपाली औषधि उद्योगमा लगानी अनुसारको प्रतिफल नआएको भन्दै कम्पनीहरुलाई क्षयरोगले भेटेको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए । उनले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि नेपाली कम्पनीबाटै खरिद गरे नेपाली औषधि उद्योग फस्टाउन सक्ने बताए । उनले सरकारले ९८ किसिमका औषधि खरिद गर्न सके बाहिरबाट औषधि ल्याउन नपर्ने दावी गरे ।
‘अहिले हामी ५० प्रतिशत मात्र आत्मनिभएर भएका छौ, । उत्पादन र आयातको तारताव्यता मिलाउनु पर्यो । कुनै पनि देशले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुने भन्छ । हामीले पनि स्वदेशी औषधि उपभोग गर्नुपर्दछ,’ उनले भने, ‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्नहुन्छ के हुँदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेको छ । त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनु पर्दछ ।’
अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाले चुहावट नियन्त्रण गरेर औषधिको मूल्यमा समायोजन गर्ने बताए ।
उनले उद्योगमा नै प्रयोगशाला रहेकोले औषधि गुणस्तर रहेको छ भन्ने हामीले विश्वास गरेको बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरीरमा औषधिले काम गर्यो भने मात्र औषधिको गुणस्तर मापन हुने बताए । औषधिको स्वीकृति लिँदा परीक्षण पास भयो भन्दैमा त्यसलाई गुणस्तरीय औषधि भन्न मिल्दैन । उनले भने, औषधि उत्पादनदेखि प्रयोगसम्मको चक्र गुणस्तरीय हुनुपर्छ ।
उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको बताए । ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ ।
नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरिय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए ।
औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य नेपाली औषधि उद्योग फस्टाउनुपर्ने बताए । उनले औषधिको गुणस्तर कायम राख्नुपर्ने भन्दै वदेश उद्योग संरक्षण आवश्यक रहेको बताए । विश्वमा नेपाल सवभन्दा कम मूल्यमा औषधि वेच्ने मुलुकको रुपमा रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मंचका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरिय औषधि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।