बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालले ११४औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव समारोहमा बाेल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको नेतृत्वदायी अस्पतालका रुपमा विकास गर्न सरकार लागि परेको बताए । यस अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गरी सेवा थप गर्दै लैजाने गरी काम अगाडि बढेको उनले बताए ।
स्वास्थ्य मानवको जिवनसँग जोडिएको विषय भएकाले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्दै गुणस्तरवृद्धिमा प्रदेश सरकारले जोड दिएको उनले बताए ।
१९६७ सालमा दुई जना भारतीय चिकित्सक र ६ शैय्याबाट शुरु भएको अस्पतालले ११४औं वार्षिकोत्सव मनाउने दिनसम्म आइपुग्दा विशेषज्ञ तथा मेडिकल अधिकृतसहित १२७ जना चिकित्सक, नर्सिङ कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ सहित विभिन्न क्षेत्रमा गरी यहाँ ८ सय १५ जना कर्मचारी कार्यरत रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर सुर्दशन थापाका अनुसार हाल यहाँ ४ सय ९० वेड सञ्चालनमा छन् । अस्पतालमा दैनिक ओपिडिमा १५ सय देखि २ हजार जना तथा इमर्जेन्सीमा २ सय देखि २ सय ५० जनासम्म बिरामी आउने गर्छन ।
बिरामीको चाप रहेको यस अस्पतालमा ७ सय वेड क्षमताको १० तले भवन बनाउने योजना अगाडि बढाइएको छ । त्यस्तै ४ तले १ सय वेड क्षमताको क्यान्सर उपचारको लागि अत्याधुनिक भवन बनाउने योजना अगाडि बढाइएको छ ।