काठमाडौं, १३ फागुन । छिमेकी देश भारतमा शल्यक्रिया गर्दा रोबोटको प्रयोग बढेको छ । चिकित्सकको सहभागिता र रोबोर्टको प्रयोगबाट हुने शल्यक्रियाहरु प्रभावकारी र कम जोखिमयुक्त हुने गरेको विशेषज्ञले बताएका छन् ।
भारतको एपोलो अस्पतालका पेटरोग शल्यचिकित्सक डा. अरुण कुमारले रोबोर्टिक सर्जरी विज्ञानको अभूतपूर्व आविष्कार भएको बताए । राजधानीमा सञ्चालन भएको ग्यास्ट्रोइन्ट्रो सर्जनहरुको सम्मेलनमा भाग लिन आएका डा. अरुणले भारतमा पछिल्लो समय अधिकांश शल्यक्रिया रोबोर्टको सहयोगमा हुनथालेको बताए ।
न्यूनतम भारतीय रुपैयाँ ५ करोड पर्ने रोबोर्टलाई शल्यक्रियामा प्रयोग गर्ने गरिएको छ । युरोपियन र अमेरिकन रोबोर्टलाई भने करिब २० करोड भारु पर्ने डा. अरुणको भनाइ छ ।
‘सर्जरी गर्ने चिकित्सक नै भएपनि बिरामीको शारीरिक, प्राविधिक अवस्था र शल्यप्रकृयाका बारेमा एआईले चिकित्सकलाई मार्गदर्शन गर्ने गर्दछ । लाखौं शल्यक्रिया, लाखौं बिरामीको विशिष्टता, बिरामीका अन्य अवस्थाहरुको विश्लेषण गरेर रोबोर्टले शल्यक्रियामा सहयोग गर्छ । जसले सम्भावित जोखिमलाई न्यूनिकरण गर्छ भन्ने शल्यक्रियाको प्रभावकारितालाई वृद्धि गर्छ ।’ डा. अरुणले स्वास्थ्य डायरीसँग भने ।
रोबोर्टिक सर्जरीले शल्यक्रियापूर्व मानिसको शरीरमा यन्त्रहरु घुसाएर शरीरको अवस्था जान्नुपर्ने बाध्यतालाई पनि अन्त्य गरिदिएको छ । उनका अनुसार रोबोर्ट शरीरका अत्यन्त मसिना नशा र अवस्थितिलाई सजिलै चिकित्सकले बुझ्नेगरि मार्गदर्शन गर्दछ । यो शल्यक्रिया मुटु, मिर्गौला, पेट, नशा लगायत अधिकांश उपचारमा प्रयोग हुने गरेको छ ।
सम्मेलनमा भाग लिन आएका डा. अरुणले नेपालमा पनि रोबोर्टिक सर्जरीको उपयोग आवश्यक रहेको बताए । ‘मैले २ घण्टाको शल्यक्रिया रोबोर्टिक पद्धतिबाट ४० मिनेटमा सम्पन्न गरेको छु । यो प्रविधिको प्रयोग नेपालमा अत्यन्त लाभकारी हुनसक्छ ।’ उनले भने ।
हेरौं डा. अरुणको भिडियो सामग्री