

काठमाडाैं : सिकलसेल एनिमियाको संक्रमण वर्षेनी बढ्दै गएको छ । अहिले यसको संक्रमण अन्य समुदायमा देखिन थालेको छ। सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरले सुझाव दिएका छन् ।
थारु समुदायमा देखिने सिकलसेल एनिमियाका कारण हरेक वर्ष धेरैले ज्यान गुमाउने गरेका छन् । तर, यसको यकिन तथ्यांक भने अहिलेसम्म सरकारसँग नभएको कैलालीको भजनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाशकुमार चौधरीले बताए ।
सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिमा राज्यमा पहिलो पटक देखिएको यो रोगबाट नेपालका बाँके, बर्दिया, दाङ लगायतका तराईका जिल्ला बढी प्रभावित छन् ।
थारु समुदायका मानिस यो रोगबाट सबैभन्दा बढी प्रभावित भएकै कारण नेपाल सरकारले हाल सिकलसेल एनिमियाको उपचार निःशुल्क गर्दै आएको छ । यो रोगको गम्भीरतालाई ध्यानमा राखेर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आर्थिक वर्ष ०७४/०७५ बाट सिकलसेल एनिमिया सम्बन्धी अनुसन्धान सुरु गरेको थियो ।