काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को संशोधन प्रस्तावमाथि आज छलफल भएको छ ।
परिषद्को आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा विगत लामो समयदेखि संशोधन हुन नसकेको उक्त ऐनमाथि आज स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्यविद्, पत्रकार र सरोकारबालाबीच छलफल भएको हो ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्रमरण सिंहले लामो समयमदेखि संशोधन हुन नसकेको ऐनलाई समय सान्र्दभिक संशोधन गरेर लैजान आवश्यक रहेको बताए । उनले दुरगामी लक्ष्य राखेर ऐनलाई संशोधन गर्नुपर्ने धारणा राखे ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले समय अनुसार परिमार्जन गर्दै जानुपर्ने ऐन अहिले आएर संशोधन हुन लागेकोमा खुशी व्यक्त गरे। उनले ऐनलाई आगामी २० वर्ष संशोधन गर्न नपर्ने गरि संशोधन गर्नुपर्ने बताए ।
परिषद्का पूर्व अध्यक्ष डा. महेश मास्केले जनताको स्वास्थ्यलाई प्रवद्र्धन गर्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने धारणा राखे ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतका सल्लाहाकार विश्वरुप खड्काले स्वास्थ्यका हरेक क्षेत्रलाई समेट्ने गरि ऐनलाई परिमार्जन गर्नुपर्ने बताए ।
नेपाल मेडिकल एसोसिसनका महासचिव डा. संजीव ज्ञवालीले जनताको स्वास्थ्यमा के गर्दा फाइदा हुन्छ त्यसै अनुसार परिषद्को ऐन संशोधन गर्नूपर्ने बताए ।
नेपाल नसिंङ संघकी पूर्व अध्यक्ष तारा पोखरेलले परिषद्ले नसिङलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिए ।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आफ्नो चारबर्षे कार्यकालमा परिषद्को ऐन संशोधन कामको प्रक्रियामा लगेको बताए । उनले ऐन संशोधनको प्रस्ताव सवैलाई समेट्ने गरि बनाइएको भन्दै परिषद्लाई पढ्ने, लेख्ने, अनुसन्धान गर्नेको थलो बनाउनुपर्नेमा जोड दिए ।
भोलिदेखि चार वर्षे कार्यकाल सकिने लागेका परिषद् सदस्य सचिव डा. ज्ञवालीले आफ्नो कार्यकालमा परिषद्ले अध्ययन अनुसन्धानमा महत्वपूर्ण काम गरेको बताए । उनले कोभिड १९ का ३५ र अन्य रोगका ६० अध्ययन अनुसन्धान भएको जानकारी दिए ।
“म परिषद्मा आउने वित्तिकै कोभिड १९ महामारी शुरु भयो । तर पनि हामी महामारी वेलामा अध्ययन अनुसन्धानको कामलाई निरन्तरता दियौ”उहाँले भन्नुभयो, “कोभिड १९ हामीले अध्ययन अनुसन्धान गरेर परिषद्लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मौका पायौ ।”
कार्यक्रममा परिषद्का कर्मचारीसमेत सहभागि रहेको थियो ।