काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मङ्गलवार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति गठन गरेको हो ।
समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन रहेको छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता सङ्गठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य र नेपाल नर्सिङ काउन्सिलको तर्फबाट शुक्ला खनाल रहेका छन् ।
लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको नेतृत्व हुनेछ । यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्नेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ ।
सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका शिफारिसका आधारमा सेवा उपलब्ध हुनेछ । यो सेवा देशभरिका नागरिकका लागि हो ।