विराटनगर- नेपाली तथा भारतीय बिरामीलाई सर्वसुलभ सेवा दिने उद्देश्यका साथ स्थापना भएको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन भएको छ । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको उक्त इन्स्टिच्युटको नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
६ महिना अघिबाट क्यान्सरको उपचार थालेको अस्पतालको उद्घाटन गर्दै नेता कोइरालाले प्रदेश राजधानीमा क्यान्सर अस्पताल सेवा सुरु भएपछि बिरामीलाई सहज हुनेमा विश्वस्त रहेको बताए । क्यान्सर लागेको समयमा निर्क्यौल हुने र त्यसको उपचार पनि हुने हुँदा पहिलेजस्तो आत्तिनुपर्ने स्थिति नभएकोसमेत नेता कोइरालाले बताए ।
क्यान्सरको रोकथाम र नियन्त्रणमा सरकारले योजना बनाएर लाग्नुपर्ने उनले बताए । उनले भने, ‘सरकारले क्यान्सर पीडितको लागि एक लाख रुपैयाँ दिने गरेको छ । तर, त्यो एक लाख रुपैयाँ क्यान्सरको उपचारको लागि पिनट मात्र हो । राज्यले गर्न सक्ने त्यो भन्दा धेरै पनि छैन ।’
त्यसैगरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचारका लागि मुलुकबाहिर जानुपर्ने बाध्यता हटेको बताए। ‘साँच्चै अब बिरामीले उपचारका लागि भारत पुगिरहनुपर्ने अवस्था अन्त्य भएको छ’ उनले भने । उनले आफू सदैव क्यान्सरबारे सचेतना जगाउदै आएको बताएका छन् । ‘पाँच जनामा एक जनामा क्यान्सर लाग्ने भन्ने सर्वेक्षणबाट सुनेको छु । यो सुनेर झन् मलाई डर लाग्ने गर्दछ । त्यसैले यो रोग लाग्न दिनुहुँदैन । क्यान्सर रोग लाग्न नदिन जनचेतनाको जरुरी छ । अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियानमा हिड्ने गरेको छु । त्यसैले अहिले विराटनगरमा छु ‘ उनले भने ।
कार्यक्रममा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले क्यान्सर उपचारका बिरामीलाई सहज वातावरण बनेको बताएका छन् । उनले अस्पतालनजिक उपचारका लागि आउने बिरामी, आफन्तको बसोबासका लागि धर्मशाला बनाउन सक्दा प्रभावकारी हुने बताए । ‘हामीले सेवा दिएको ६ महिना भइसकेको थियो तर आज उद्घाटन गर्यौं । यो अस्पतालले यहाँका जनता र मित्र राष्ट्र भारतका बिरामीलाई सर्वशुलभ रुपमा विश्वस्तरीय सेवा दिनेछौं’ उनले भने, ‘हामीले संसारकै उत्कृष्ट ट्रुबिम जडान गरेका छौँ । हामी क्यान्सरको सबै स्तरको उपचार गर्छौं ।’ उनले भविष्यमा राज्यको सहयोग पाए नि:शुल्क सेवा दिने प्रतिबद्धता जनाए ।
इन्स्टिच्युटले एक सय शय्या क्यान्सर रोग विभागको लागि छुटयाएको उनले जानकारी दिए ।
एकैथलोमा १५ वटाभन्दा बढी कार्यक्रम
रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट विराटनगरले विश्व क्यान्सर दिवसको अवसरमा यही माघ –२१ गते आइतबारका दिन ‘आशा क्लोज द केयर ग्याप’ अर्थात् ‘क्यान्सर उपचारको पहुँचको दुरीलाई बन्द गरौं’ भन्ने नाराका साथ जनचेतना मुलुक विभिन्न कार्यक्रम समेत गरेको छ ।
जसअन्तर्गत स्कुलका विद्यार्थीहरूको र्याली, साइकल र्याली, स्कुटर र्याली, कार र्याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरूको सफलताको कथा क्यान्सर रोग विशेषज्ञद्वारा जनचेतना सम्बन्धि प्रस्तुति लगायतका कार्यक्रम आयोजना गरिएको सञ्चालक कार्कीले जानकारी दिए । कार्यक्रमबाट सङ्कलित रकम सो अस्पतालमा उपचार गराइरहेका क्यान्सर बिरामीको उपचारार्थमा सहयोग गरिने उनले बताए ।
आर्थिक विपन्न र क्यान्सरको उपचार गर्न नसक्ने बिरामीको सम्पूर्ण उपचार हुने बताइएको छ ।
करिब एक अर्ब रुपैयाँ लागतमा निर्माण भएको इन्स्टिच्युटले हाल दैनिक ४० देखि ५० जना बिरामीलाई सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।