काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल र सिस्ट कलेज बीच एमफार्म विद्यार्थीहरूको ‘क्लिनिकल क्लर्कशिप’को लागि एक सम्झौता भएको छ ।
औषधि विज्ञान अन्तर्गत एम.फार्म. क्लिनिकल फार्मेसीका विद्यार्थीहरूको पेशागत विकासका लागि सोमवार एक महत्वपूर्ण कदमको रुपमा सो सम्झौता भएको हो ।
सम्झौतामा सिस्ट कलेजले आफ्ना एमफार्म विद्यार्थीहरूलाई नेपाल प्रहरी अस्पतालमा क्लिनिकल क्लर्कशिपको लागि अवसर प्रदान गर्ने रहेको छ । अहिले एक वर्षको लागि सो सम्झौता गरिएको हो । प्रत्येक वर्ष नविकरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरीक्त महानिरीक्षक डा. आशा सिंह र सिस्ट कलेजका एम.फार्म संकाय संयोजक प्राध्यापक गजेन्द्र बहादुर भुजुद्वारा हस्ताक्षर गरिएको छ । त्यस्तै, सम्झौतामा अस्पतालको तर्फबाट फार्मेसी विभाग प्रमुख प्राविधिक प्रहरी निरीक्षक सागर प्रसाद अधिकारी तथा कलेजको तर्फबाट उपप्राध्यापक निर्मलराज मरासिनिको समेत संयुक्त रुपमा हस्ताक्षर रहेको छ ।
सिस्ट कलेजका प्राध्यापक भुजुले यस सम्झौताले आफुहरु खुसि भएको बताए । उनले अब दुई संस्था बीचको सम्बन्ध र सहयोगलाई मजबूत बनाउने बताए । विद्यार्थीहरूको व्यावसायिक अनुभवमा नयाँ दिशा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै, अस्पतालमा कार्यरत क्लिनिकल फर्मासिष्ट प्राबिधिक प्रहरी निरीक्षक प्रदिप पन्तले यस सहकार्यले एम.फार्मका विद्यार्थीहरूलाई व्यावसायिक परिस्थितिमा क्लिनिकल तथा प्रयोगात्मक अनुभव प्राप्त गराउने बताए । विद्यार्थीहरूलाई फार्मेसी तथा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण अनुभव प्रदान गर्ने उनको विश्वास छ ।
सिष्ट कलेजमा एमफार्म क्लिनिकल फार्मेसीमा अध्ययनरत विद्यार्थिहरुले नेपाल प्रहरी अस्पतालमा आफुहरुले क्लिनिकल अभ्यास गर्न पाउने कुराले आफुहरु एकदमै उत्साहित रहेको बताए । साथै उनीहरूले यस अवसर उपलब्ध गराउने अस्पताल र कलेज दुबैलाई धन्यवाद समेत व्यक्त गरे ।