काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।
सोमबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।
‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन। यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन्। ती कमी कमजोरी हटाएर आगामी दिनमा स्वास्थ्यकर्मीहरु बढ्न जरुरी छ‚’ उनले भने, ‘एकथरि सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ। एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था। अर्को कामै नपाउने अवस्था छ।’
मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।