ढाड दुख्ने समस्या मानिसको साझा समस्या हो । पछिल्लो समय धेरै व्यक्तिहरु ढाड दुख्ने समस्याबाट ग्रसित छन् । गर्मीको समयमा भन्दा जाडोको समयमा धेरै ढाड दुख्ने गरेको पाईन्छ । मानिसको मांसपेशी र मेरुदण्डको हडीको सन्तुलन कायम हुनुपर्छ । यदी मांसपेशी र हडीको सन्तुलन कायम नभए ढाड दुख्ने समस्या बढी हुन्छ । यसैगरी, लामो समयसम्म कुर्चीमा बसेर काम गर्दा वा लामो समयसम्म एकैठाउँमा बस्दापनि ढाड दुख्ने समस्या हुन्छ ।
मानिसको ढाड दुखाई विभिन्न खालका हुन्छन् । दुखाई ढाडमा मात्र छ की खुट्टामा छ भन्ने कुरा पहिले पहिचान गर्नुपर्छ । यदी ढाडको दुखाईसँगै पिडुलातिर पनि दुखाई गएको छ भने कम्मरमा नशा च्यापिएको हुनसक्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनु नै उपयुक्त हुन्छ ।
यसैगरी, दुखाई ढाडमा मात्र नभएर अन्य लक्षणहरु (जस्तै, ज्वरो आउने, खाना नरुच्ने, खुट्टामा कमजोरीपना आउने र दिशापिसावमा समस्या) देखिएको खण्डमा डाक्टरकसँग परामर्श लिनुपर्छ । ढाड दुखेको विरामीमा त्यस्तो लक्षण देखियो भने रेड फ्याग साइन (रातो झण्डा) भनिन्छ । त्यस्तो अवस्थामा डाक्टरसँग परामर्श लिनु उपयुक्त हुन्छ ।
यदी दुखाईको कारणले रातमा निन्द्राबाट ब्यूजिन्छ भने त्यस्तो दुखाईलाई सामान्य दुखाईको रुपमा लिन हुँदैन । त्यस्तो लक्षण देखिएमा तुरुन्तै डाक्टरको परामर्श लिईहाल्नुपर्ने हुन्छ । दुखाई ढाडमा मात्र सीमित छ र दैनिक क्रियाकलाप गर्दामात्र दुख्छ भने त्यसलाई हामिले ‘मेकानिकल व्याकप्यान’ भन्छौँ । त्यस्तो अवस्थामा विरामी डराउन पर्दैन । तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिन जानसमेत पर्दैन । उक्त समस्याको उपचारका लागि जीवन पद्धती परिवर्तन र दैनिक व्यायाम आवश्यक हुन्छ ।
दैनिक जीवनपद्धती परिवर्तन गर्नका लागि लामो समयसम्म कुर्चीमा बसेर काम गर्नुहुँदैन । यस्तै, बस्ने, उठ्ने चलायमान भइराख्ने, पलेटी कसेर र टुक्रुक्क धेरै समयसम्म सकेसम्म नबस्ने गर्नुपर्छ । यसैगरी, नरम सोल भएको जुत्ता लगाउनु आवश्यक हुन्छ ।
जाडोमा किन बढी ढाड दुख्छ ?
जाडोको समयमा हाम्रो शरिर चलायमान हुँदैन । फुर्तिलो शरिर हुँदैन । व्यायाम समेत समयमा नहुँदा बढी ढाड दुख्ने गर्दछ । हाम्रो शरिर मेसिन जस्तो भएकाले समयसमयमा चलायमान बनाउन आवश्यक हुन्छ । मांसपेशी र मेरुदण्डको हडीको सन्तुलन कायम हुनुपर्छ । तर जाडोमा मांसपेशीहरु खुम्चिएर बस्ने र चलायन त्यति धेरै नहुने कारणले जाडोमा बढी ढाड दुख्ने गर्दछ ।
(अर्थोपेडिक स्पाइन सर्जन दाहाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन्)