कपिलवस्तु : ड्युटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमरजेन्सी वार्डका तीन जना कर्मचारी निलम्बित भएका छन् ।
गत पुस ३ गते राति इमरजेन्सी वार्डको बेडमा कुकुर सुतेको फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । पेट दुखेर अस्पतालमा उपचार गराउन आएका मायादेवी गाउँपालिकाका सुरेश कुमार पाण्डेयले बेडमा कुकुर सुतेको देखे पछि फोटो खिचेका थिए ।
तीन दिनअघि उनले सो फोटो आफ्नो फेसबुकमा राखेका थिए । उक्त विषयमा अस्पताल प्रशासनले छानबिन गरेपछि तीन जनालाई निलम्बनमा राखेको अस्पतालका मेसु बिपिन जैसवालले बताए ।
दुई जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुहुन् । कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको थियो । अस्पतालमा रहेका सिसि फुटेज चेक गरेपछि उक्त कुरा खुलेको थियो ।