चितवन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा डा गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले सरकार ऐन संशोधाबाट पछि नहट्ने बताएका हुन् ।
चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको मन्त्री बस्नेतले दाबी गरे । चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीका भरमा काम भइरहेको उल्लेख गर्दै उनले यसलाई थप गरेर अघि बढ्ने पनि बताए ।
‘कुनै एक व्यक्तिले अनशन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन पनि । त्यहाँ भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौं,ु उनले भने ।
ऐन संशोधनका विषयमा दुई पटक बैठक बसिसकेको उनले बताए । सरकारले एक सयदेखि तीन सय शय्या भएका अस्पताललाई नर्सिङ र प्यारामेडिक्स पढाउन दिने तथा तीन सय शय्याभन्दा बढी भएका अस्पताललाई एमबीबीएस पढाउन दिने गरी ऐन खुकुलो पार्न लागेको मन्त्री बस्नेतले जानकारी दिए ।