
काठमाडौं, १७ मंसिर । हामीमध्ये कतिपयले घरमा बालबच्चालाई बिसन्चो हुँदा नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउने चलन छ । तर, मेडिकलबाट हचुवाका भरमा ल्याएर खुवाइने औषधि बालबालिकाका लागि दीर्घकालमा अभिशाप हुनेतर्फ चिकित्सकले सजग गराएका छन् ।
अल्का अस्पतालका बालरोग विशेषज्ञ डा. यादव ढकालले बालबालिकालाई सामान्य भाइरल संक्रमण भएर ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने जस्ता समस्या हुँदा पनि एन्टिवायोटिक खुवाउनु घातक हुने बताएका छन् ।’ भाइरल संक्रमण हुँदा बालबालिकालाई बिना एन्टिवायोटिक नै निको पार्न सकिन्छ । तर, कतिपय स्वास्थ्यकर्मी, औषधि पसले र अभिभावकले छिटो निको पार्ने नाममा जथाभावी एन्टिवायोटिक खुवाउन बन्द गर्नुपर्छ ।’ डा. ढकालले भने ।
चिसो मौसम सुरु भएसँगै बालबालिकालाई चिसो लाग्ने, भाइरल संक्रमण भएर ज्वरो, रुघाखोकी र झाडापखाला लाग्ने, निमोनिया हुने, छालामा संक्रमण हुने र आँखा पाक्ने जस्ता समस्या बढ्ने भएकाले सजग हुन ढकालले अनुरोध गरे ।
पछिल्लो समय बालबालिकालाई जथाभावी जंकफुड (पत्रुखाना) खुवाउँदा पनि उनीहरुको समग्र विकासमा असर गरेको ढकालको भनाइ छ । बच्चाहरुलाई पोषणयुक्त सन्तुलित भोजन खुवाउनुपर्ने ठाउँमा जथाभावी पत्रु खाना खुवाउँदा बच्चाको सर्वागिंण विकासमा बाधा पुग्ने गरेको छ ।
बच्चाको स्वास्थ्यको जाडो मौसममा थप ख्याल गर्नुपर्ने भन्दै डा. ढकालले विभिन्न उपायहरु सुझाएका छन् ।
हेरौं यो भिडियो सामग्री


