काठमाडौं, १६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एमालेनिकट चिकित्सक वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको जिम्मेवारी खोसेका छन् ।
निर्देशक पौडेललाई मन्त्री बस्नेतले मन्त्रालयमा तानेका छन् । यसअघि एमाले पार्टीमा सक्रिय रहेको आरोप खेपिरहेका पौडेललाई मन्त्रालयले यहि निहुँ देखाएर पदावधि सकिनुभन्दा १५ महिना अगावै हटाएको भनिएपनि पत्रमा भने कारण उल्लेख गरिएको छैन ।
मन्त्रालय हाजिर हुने चिठी पाएसँगै आक्रोशित भएका पौडेलले फेसबूकमा कडा स्टाटस लेखेका छन् । यसअघि एमालेनिकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघका अध्यक्ष समेत रहेका पौडेलले मन्त्रीको कदमलाई राणशासनभन्दा कडा अधिनायकवाद भनेका छन् ।
उनि फेसबूकमा लेख्छन्,
नरदेवीमा बढ्यो लफडा
यसअघि मन्त्री बस्नेतले आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक प्रदीप केसीलाई पनि हटाएका थिए । ११ औं तहका चिकित्सकलाई दरबन्दी नै नभएको सिंहदरवार वैद्यखाना विकास समितिमा पठाएर आयुर्वेद विभागका १० औं तहका डा. श्यामबाबु यादवलाई नि.निर्देशक बनाएपछि नरदेवीमा सुरु भएको लफडा पुलिस चौकीदेखि अदालतसम्म पुगेको छ ।
दरबन्दी नै नभएको गठनादेशले चलेको समितिमा अन्यायपूर्वक र सर्वोच्चले यसअघि गरेको व्याख्या विपरित आफुलाई पठाउन खोजिएको भन्दै केसीले मंसिर १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनलाई आउँदो १८ गते अदालतले पेशीका लागि डाकेको छ । केसीको दरबन्दी नरदेवीमा रहेको छ भने नवनियुक्त निमित्त निर्देशक डा. श्यामबाबु यादवको आयुर्वेद विभाग टेकुमा रहेको छ । दुवैजनालाई हाल कामकाजका लागि मात्र भनिएको छ ।
यस्तै नरदेवी चिकित्सालयमा १० औं तहको चिकित्सक हुँदाहुँदै बाहिरको निर्देशक बनाइएको भन्दै नरदेवीका १० औं तहका चिकित्सक डा. रामदेव यादवले पनि सर्वोच्च अदालतमा गत मंसिर ८ मा रिट दायर गरेका छन् ।
शान्तिसुरक्षा माग्दै यादव सोह्रखुट्टे चौकी पुगेपछि बबाल…
डा. केसीले रमाना नलिएर आयुर्वेद चिकित्सालय नरदेवीमै उपस्थित भएपछि असहज महशुस गरेका निमित्त निर्देशक डा. यादवले शान्ति सुरक्षा माग्दै सोह्रखुट्टै चौकीमा उजुरी दिएपछि बबाल भएको छ ।
नरदेवीका १० औं तहका चिकित्सक डा. रामदेव यादव र ११ औं तहका डा. प्रदीप केसी अदालत गएपछि काम गर्ने वातावरण नभएको र अस्पतालको शान्तिसुरक्षामा खलल पुगेको भन्दै नवनियुक्त डा. श्यामबाबु यादवले सोह्रखुट्टे चौकीमा उजुरी दिएपछि डा. केसीलाई प्रहरीले सोह्रखुट्टे चौकीमा बोलाएर केरकार गरेको छ ।
चौकीमा बोलाइएका केसीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेत निकटका केही व्यक्तिले थर्काएका छन् । स्रोतका अनुसार मोहन बस्नेत निकट सिन्धुपाल्चोकका काँग्रेस नेताहरु श्रवण जिसी लगायतले केसीलाई ‘चारवर्ष नरदेवी खाएर अझै नपुगेको ??’ भन्दै थर्काएर नयाँ निर्देशकलाई काममा बाधा नपुर्याउन चेतावनी दिएका थिए ।
सोह्रखुट्टै चौकी स्रोतका अनुसार प्रहरीले सो विषय स्वास्थ्य मन्त्रालयको भन्दै दुबैपक्षलाई फिर्ता पठाइदिएको थियो ।
सर्वोच्चको व्याख्या विपरित वैद्यखानाको कार्यकारी निर्देशक चयन
डा. केसीलाई कार्यकारी निर्देशक बनाउने मन्त्रीस्तरीय निर्णय कानुन विपरित भएको पाइएको छ ।
सिंहदरवार वैद्यखानामा कार्यकारी निर्देशक रिक्त रहेका सम्बन्धमा गत बैशाखमा सर्वोच्च अदालतले जारी गरेको परमादेशमा तीनमहिनाभित्र प्रकृया पुर्याएर ११ औं तहको कार्यकारी निर्देशक चयन गर्न भनिएको छ । वैद्यखानाका बजार अधिकृत ऋषिराज रेग्मीले हालेको रिटमा सुनुवाई गर्दै अदालतले कार्यकारी निर्देशक बनाएर कार्यसम्पादन सम्झौता गर्न आदेश दिएको छ । तर, अहिले खटाइएका डा. केसीलाई भने कुनै सम्झौता गराइएको छैन ।
यसअघि मन्त्रालयले आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायलाई नै वैद्यखाना पनि हेर्ने जिम्मेवारी दिएको थियो । हाल मन्त्री बस्नेतको रुचीमा उपाध्यायलाई वैद्यखानाको जिम्मेवारीबाट हटाएर केसीलाई पठाइएको हो ।