

काठमाडौँ, २६ कात्तिक । आजको डिजिटल युगमा आफ्ना बालबालिकालाई स्क्रिनजन्य ग्याजेट (टेलिभिजन, आइप्याड तथा मोबाइल) बाट अलग राख्नु चुनौतीपूर्ण कार्य हो ।
दिनानुदिन डिजिटलको प्रयोग बढ्ने क्रममा हामी आफैँ पनि अधिकांश कार्य तथा समय विशेषगरी मोबाइल प्रयोगमै बिताउँछौ । जसको प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हाम्रा बालबालिकामा प्रभाव परिसकेको हुन्छ । र, परिणामस्वरुपः उनीहरु सोही बानीको सिको गर्छन् र लत बस्छ ।
मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुर्याउने विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । तसर्थ बालकालिकालाई यसको लत हुन नखिन यसप्रति अभिभावक बेलैमा सचेत हुनु आवश्यक छ । बालबालिकामा मोबाइलको लत लागेको कसरी थाहा पाउने ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोबाइलको लत लागेका बालबालिकामा निम्न लक्षण देखिन्छन् :
– मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ । साथै रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्दछन् । यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन् ।
– सुत्नु भन्दा अगाडी मोबाइल हेरेका बालबालिकामा मोबाइल स्कृनबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ ।
– मष्तिष्क विकास हुने अधिकतम् उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउँछ ।
उसोभए यसको प्रयोग/लतबाट बालबालिकालाई कसरी बचाउने त ? यस्ता छन् मन्त्रालयका सटिक उपायहरु :
– बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन् । अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनिहरुले पनि देखेर सिक्छन् र लत बस्छ ।
– मोबाइलको लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने र निन्द्राबाट पटक पटक ब्युझँने समस्या देखिन सक्छ ।
– आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाऔं ।
– मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफुले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् जसका कारण पोषण सम्बन्धित समस्या, पाचन प्रणालीमा समस्या हुन सक्दछ ।
– खाना खुवाउँदा अभिभावकले बच्चाहरूसँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदैँ खुवाउनुपर्छ।