काठमाडौँ, २३ कात्तिक । हाम्रो शरीर र बाहिरी वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि बद्लिदो मौसमको प्रभाव हाम्रो शरीरमा स्वतः रुपमा देखा पर्दछ । अझ भनौँ बाहिरी वातावरणको प्रभाव सबैभन्दा पहिले हाम्रो शरीरको बाहिरी भागमा रहेको छालामा देखा पर्दछ ।
हाल नेपालमा दिनानुदिन चिसोको मात्रा बढिरहेको सन्दर्भमा भन्नुपर्दा यस समयमा अधिकांशमा देखिने छालासम्बन्धी साझा समस्या निम्न रहेका छन् :
१. छाला फुस्रो हुनु
छालामा पानी एवम् तैलीय पदार्थको कमी भएर हुने यस समस्याअन्तर्गत व्यक्तिको छाला फुस्रो वा सुख्खा हुन गई छालामा ‘फ्लेक्स’ भनिने चाँयाजस्तो कत्रा–कत्राहरु देखा पर्न थाल्छन् । जसकारण व्यक्तिमा शरीर चिलाउने, कन्याउँदा रगत आउने र घाउ हुनेजस्ता समस्या देखा पर्दछ ।
२. एग्जेमा
जाडोयाममा साझा रुपमा देखिने अर्को समस्या भनेको एग्जेमा पनि हो । छालाको एलर्जी पनि भनिने यस समस्या अन्तर्गत पनि व्यक्तिलाई शरीर चिलाउने, चिलाएर रातो हुने र छालाबाट चाँयाजस्तो कत्रा कत्रा निस्कने हुन्छ ।
३. सोरायासीस
नेपालीमा ‘कत्ते रोग’ पनि भनिने यो समस्या व्यक्तिमा तुलनात्मक रुपमा जाडोयाममा बढी देखा पर्दछ । प्रायजसोः घुँडा, कुहिनो, टाउको र ढाडका भागमा रातो दादको साथ देखा पर्ने यो समस्या समयमै उपचार नगरेको खण्डमा बढ्दै जान्छ ।
४. छालाहरु फुट्नु
जाडोयाममा साझा रुपमा देखापर्ने अर्को समस्या भनेको छाला फुट्नु पनि हो । यस समयमा प्रायजसोः स–साना बालबालिकाहरुमा ओठ तथा गालाका भागका छालाहरु फुट्ने गरेको पाइन्छ । चिलाउने र पोल्ने समस्या देखा पर्ने यो समस्याले फुटेका भागमा घाउहरु समेत बनाउने सम्भावना उच्च रहन्छ ।
५. एक्ने अर्थात् डन्डिफोरका समस्या
जाडोयाममा किशोर–किशोरीदेखि वयस्कहरुमा समेत साझा रुपमा देखिने समस्यामध्ये एक्ने अर्थात् भनेको डन्डिफोरका समस्या पनि हो । छाला सुख्खा हुने भएकै कारण देखा पर्ने यस समस्या तुलनात्मक रुपमा जाडोयाममा नै बढी देखापर्दछ ।
६. कोल्ड अर्टिकेरिया
छालाको एलर्जीको विभिन्न प्रकारमध्ये जाडोयाममा साझा रुपमा देखापर्ने समस्या भनेको कोल्ड अर्टिकेरिया पनि हो । अर्टिकेरिया भन्ने बित्तिकै एलर्जीका कारण छालामा देखापर्ने स–साना गोलो आकारको रातो–रातो किसिमको डाबर भन्ने बुझिन्छ ।
र, यो समस्या जाडोयाममा देखिने भएकाले पनि यसलाई कोल्ड अर्टिकेरिया भनिएको हो । बाहिरी वातावरणमा तापक्रमको चाप न्यून भएको समयमा देखापर्ने यस समस्याले व्यक्तिलाई विशेषतः बिहान र बेलुकी बढी सताउँछ ।
७. विन्ड बर्न
चिसो मौसमका लाग्ने हावाका कारण व्यक्तिमा विन्ड बर्नका समस्या पनि देखिने हुन्छ । यस समस्या अन्तर्गत व्यक्तिका छालाका केहि भागहरु एक्कासी रातो भएर तात्तिएर आउने हुन्छ । कारणहरु हाम्रो छाला सुख्खा हुन नदिनका लागि जति पानीको आवश्यक पर्छ त्यति नै तेलको पनि ।
तसर्थ जाडोयाममा जति पनि छालासम्बन्धी समस्याहरु देखापर्छन् ती सबैको मुख्य कारण भनेकै छालामा तेल र पानीको असन्तुलन हुनु हो । तसर्थ यसबाहेक छालामा देखा पर्ने समस्यालाई बढावा दिने अन्य कारक तत्वहरु निम्न रहेका छन् :
–बाहिरी वातावरण एवम् शरीरमा आद्रता (ह्युमिडीटी) को कमी हुनु
–शरीरले उत्पादन गर्ने तेलको कमी
–आगो एवम् हिटरको अत्याधिक प्रयोग
–पानीको कम उपभोग
–वंशाणुगत गुण
–छाला संक्रमण
–र, उचित डाइटको अभाव ।
बच्ने उपाय
कुनै पनि समस्याबाट बच्ने भरपर्दो उपाय भनेकै त्यसका कारक तत्वबाट बच्नु हो । तसर्थ यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छ:
– मोस्चराईजर क्रिम तथा लोसनको प्रयोग
-तातो पानीमा लामो समय व्यतीत नगर्ने
-खुल्ला वातावरणमा मात्रै आगो वा हिटरको प्रयोग
-शरीर ढाक्ने कपडाको प्रयोग पेट्रोलियम जेलीको प्रयोग
-पानी तथा झोलिलो खानाको पर्याप्त सेवन
– र, उचित डाईटको प्रयोग ।