काठमाडौं, २१ कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महत मंगलबार त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँ निर्माण भएको मंगलादेवी वर्थिंग सेन्टरको उद्घाटन गरे ।
नेपाल भारत सहयोग भित्र साना परियोजना कार्यक्रम अन्तर्गत बनेको सेन्टरको उद्घाटन गर्न पुगेका महतले सम्बोधनका बीचमा आफु महाराजगञ्ज क्याम्पस पढेका दिनहरु सम्झिए । महाराजगञ्ज क्याम्पसमा २०३३ मा आफुले एच.ए. अध्ययन सुरु गरेको भन्दै महतले सो समयदेखि नै आफु विद्यार्थी राजनीतिमा लागेको स्मरण गरे ।
‘म यहाँ अध्ययन गर्न थालेसँगै विद्यार्थी राजनीति पनि सुरु गरेको हो । सोही साल वीपी र गणेशमान नेपाल फर्किनुभएको थियो । हामी कलेज नै बन्द गरेर स्वागत गर्न गएका थियौं । तर उहाँहरुलाई नेपाल आएलगत्तै सरकारले पक्राउ गर्यो । स्वागत गर्न पाइएन ।’
सो समयमा नेपालमा एचएमात्र पढाइ हुने गरेको सम्झँदै अर्थमन्त्री डा. महतले आफु मेडिकल डाक्टर बन्न नपाएको स्मरण सुनाए । पछि पूर्ण छात्रवृत्तिमा आफुले अर्थशास्त्रमा पिएचडी गर्ने अवसर पाएको महतको भनाइ छ ।
त्रिवि शिक्षण अस्पतालमा बनेको वर्थिंग सेन्टरको बारेमा बोल्दै अर्थमन्त्री महतले नेपाल भारत सहयोग अन्तर्गतका साना परियोजना निर्माण गर्दा त्यसले समुदायलाई ठूलो सहयोग पुगेको बताए ।
मन्त्री महतले भविष्यमा समुदायसँग मिलेर गर्ने साना परियोजना विकासमा थप सहयोग आदानप्रदान गर्न आफुले भारतसँग कुरा गर्ने पनि बताए ।