काठमाडौं : ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ। गत शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध गरेको हो।
पाटन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुले पनि आजदेखि आकस्मिकबाहेकका सेवा नदिने घोषणा गरेका छन्। दोषीलाई कारबाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन्।
पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो। दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए। निमोनियाको उपचारका लागि भर्ना भएका दुवै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए।
संघले विज्ञप्ति जारी गर्दै पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको ज्यान जानुको कारण खुलाउन पनि आग्रह गरेको छ।