काठमाडौं । तपाईं हामीमध्ये धेरैजना परोपकार प्रसूति गृह थापाथली पुगेका छौं होला । अस्पतालको मुख्य भवन कै अगाडी श्रीकृष्णको मन्दिर छ । जहाँ श्रीकृष्णको प्रतिमा स्थापित गरिएको छ । सँगै फूल र गमलाहरुले सजिएको बाटिका पनि रहेको छ । यो संयोगले चिकित्सा विज्ञान र धार्मिक आस्थालाई सुन्दर ढंगले जोडिदिएको छ ।
त्यसो त आधुनिक विज्ञानलाई तथ्यमा आधारित र धार्मिक आस्थालाई रुढिवाद एवं स्वैरकल्पना मान्नेहरु पनि छन् । तर, परोपकार प्रसूति गृहमात्र होइन, अन्य अस्पतालहरुमा पनि मन्दिर बनाइएका छन् । यसले मानिसहरु चिकित्सक र अस्पतालसँगै आफुले मानेको भगवानसँग पनि उत्तिनै आशा र भरोसा गर्छन् भन्ने देखिन्छ ।
प्रसूति गृहमा रहेको कृष्ण मन्दिरमा दैनिक उल्लेख्य मानिसले दर्शन गर्छन् । मन्दिर अगाडी हिँड्दै गरेका मानिस पनि नतमष्तक भएर झुकिरहेका देखिन्छन् ।
यो मन्दिर तत्कालिन श्री ५ इन्द्र राज्यलक्ष्मी परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको रजत जयन्तीका अवसरमा स्थापना गरिएको हो । राजा वीरेन्द्रद्वारा विसं २०४१ सालमा श्रीकृष्णको प्रतिमा अनावरण गरेसँगै मन्दिर स्थापना गरिएको हो ।
सँगैको भवन २०७२ को भूकम्पमा क्षतिग्रस्त भएर पछि जापानको सहयोगमा पुनर्निर्माण भएको हो । भूकम्पमा भवन भत्किएपनि श्रीकृष्णको मन्दिर उसैगरि उभ्भिरहेको छ । भक्तहरुको रक्षार्थ ‘काले कृष्ण’ बासुरी बजाउँदै तैनाथ छन् ।