काठमाडौँ, १७ कात्तिक । मानवीय शरीरमा प्रत्येक अंगको आफ्नै विशेष महत्व रहेको छ । जसमध्ये मिर्गाैला पनि एक हो । शारीरिक संरचना अनुसार, हाम्रो शरीरमा दुई ओटा मिर्गौला रहेका हुन्छन् । र, यसको प्रमुख काम भनेकै शरीरमा पिसाब उत्पादन गर्नु हो । मिर्गौला हाम्रो शरीरमा रहेका अनावश्यक तथा काम नलाग्ने उत्पादन एवम् अतिरिक्त तरल पदार्थलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्ने काम गर्दछ ।
यसरी विशेष कार्यप्रणाली निर्वाह गर्ने मिर्गाैला शरीरका अन्य अंगहरु जस्तै स्वस्थ्य रहन उत्तिकै आवश्यक रहन्छ । तर, वर्तमान समयमा विविध कारणवश् अधिकांश व्यक्तिमा मिर्गौला सम्बन्धि विभिन्न समस्याहरु देखिन थालेका छन् । जसमध्ये पनि मिर्गौलाको पथ्थरी (किड्नी स्टोन) को समस्या व्यक्तिमा अधिक देखिएको पाइन्छ ।
आम व्यक्तिमा साझा रुपमा देखिने समस्यामध्ये एक रहेको पत्थरीले बालक, युवा तथा वृद्व जुनसुकै उमेर समूहलाई पनि सताएको देखिन्छ । यद्यपि तुलनात्मक रुपमा बालबालिकाभन्दा वयस्कहरु यसबाट बढि शिकार हुने गरेका छन् भने प्रत्येक १० व्यक्तिमध्ये १ जना पत्थरीको समस्याबाट ग्रसित हुने विभिन्न अध्ययनहरुले देखाएको छ ।
के हो मिर्गौलामा हुने पत्थरी ?
विविध कारणवश् मिर्गौला एक अनियमित आकारको ठोस वस्तु जम्मा हुनु वा जम्नुलाई नै मिर्गाैला पत्थरी भनिन्छ । चिकित्सा क्षेत्रअन्र्तगत ‘नेफ्रोलिथियसिस’ पनि भनिने यस पत्थरी विशेषगरी किड्नी(मिर्गाैला), मूत्राशय(ब्लेडर), मूत्रमार्ग(युरेथ्रा) र मूत्रवाहिनी नली(युरेटर) मध्ये जुनसुकै भागमा पनि देखापर्न सक्छ ।
यसरी जमेको उक्त पत्थरी शुरुवाती क्रममा स–साना तथा मसिनो ढुङ्गाको रुपमा देखिए पनि समयमै उपचारको अभावमा अथवा शरीरबाट बाहिर निष्काशन नभएको खण्डमो त्यो क्रमशः बढ्दै जान्छ । र, परिणामस्वरुप व्यक्तिमा समस्या उत्पन्न गराउँछ ।
कारणहरु
सामान्यतयाः गलत खानपिनलाई नै मिर्गौला पत्थरीको मुख्य कारक तत्वको रुपमा लिइन्छ । यस्ता निम्न पक्षहरुले मिर्गौला पत्थरीलाई प्रोत्साहन गर्दछ:
– पानी तथा तरल पदार्थको कम सेवन
– अत्याधिक एनिमल प्रोटिन अर्थात्, मांसाहारको सेवन
– रिफाइन सुगर(कृत्रिम रुपमा तयार पारिएको चिनी) को प्रयोग
– अधिक सोडियम वा नुनको सेवन
– पत्थरी बढाउने आहारको सेवन । जस्तोः अंगुर तथा स्याउको जुस, गेडागुडी माछालगायत उच्च प्रोटिनयुत्त, आहारको अत्याधिक सेवन ।
– यस्तै, खानपिन बाहेक यहाँ अन्य केहि यस्ता पक्षहरु पनि छन्, जुन व्यक्तिमा पत्थरी हुनुपछाडि उत्तिकै जिम्मेवार रहन्छन् ।
अन्य मेडिकल कन्डिशनहरु
– जन्मजात रुपमै मेटाबोलिज्मको असन्तुलन देखिनु
– हाइपर थाइराडिज्म
– रेनल ट्युब्लर एसिडोसिस
– उच्च तौल तथा मोटोपना
– उच्च रक्तचाप तथा मधुमेह
– र, आणुवंशिक ।
आफूलाई मिर्गाैला पत्थरीको भएको कसरी थाहा पाउने?
शरीरमा कुनै रोग भए नभएको वैज्ञानिक पहिचानका लागि केहि विशेष शारीरिक जाँचको आवश्यक भएपनि कतिपय केशमा भने हामी आफुमा देखा परेको शारीरिक लक्षणहरुबाट पनि ती रोगको अनुमान गर्न सक्छौ ।
तर, यसो भन्दैमा हामीले आवश्यक जाँच र चिकित्सकको सल्लाह बिना नै जथाभावी औषधि को सेवन गर्ने गल्ती भने गर्नुहुँदैन । आफुलाई निम्न लक्षणहरु देखिएको खण्डमा व्यक्तिले अनुमान गर्दै तुरुन्तै मिर्गाैला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) को सल्लाह लिनुपर्छ ।
मिगौला पत्थरी भएका व्यक्तिमा विशेषगरी निम्न दुई प्रमुख लक्षणहरु देखिन्छन्ः
लक्षणहरु
१. अत्याधिक दुखाईको महशुस
शरीरमा भएको पत्थरी सानो भएमा अथवा सो पत्थरी किड्नी या युरेटरमा रहेको हकमा व्यक्तिमा कुनै पनि प्रकारको लक्षण देखिदैन । यसकारण पनि व्इक्तिले आफुमा पत्थरी भएको लामो समयसम्म थाहा पाउन सक्दैनन् ।
तर, उक्त पत्थरी बढ्दै गएमा वा कुनै कारणवश मुत्रमार्गमा अड्किन गएको खण्डमा भने यसले व्यक्तिमा एक्कासी अत्याधिक दुखाईको महशुस गराउँछ ।
बालक, युवा तथा वयस्क जुनसुकै समूहमा पनि देखिने गरेको यस समस्याको प्रमुख लक्षण भनेकै असह्य दुखाई उत्पन्न गराउनु हो । मिर्गाैला पत्थरी भएको व्यक्तिले आफ्नो कोखातर्फ तीव्र दुखाईको महशुस गर्छ भने सो दुखाई क्रमशः ढाडको तल्लो भागतर्फ सर्दै जान्छ ।
करिब २० मिनेटदेखि झण्डै ६० मिनेटसम्म दुखाई हुने र क्रमशः घट्दै भई पुनः सोहि समस्या दोहोरिने क्रम चलिरहने यसको दुखाई व्यक्तिमा यतिसम्म हुन्छ कि, कतिपय अवस्थामा दुखाईकै कारण व्यक्तिलाई वाक्वाकी वा बान्ता लाग्ने र ज्वरो समेत आउने हुन्छ ।
२. पिसाब फेर्न असहज हुनु
मिर्गाैला पत्थरीले व्यक्तिमा पिसाब फेर्न गाहृो हुने, पिसाब लाग्ने, तर नआउने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब फेर्दा पोल्नेजस्ता समस्याहरु निम्त्याउँछ ।
यस्तै, नमिठो गन्धसहित पिसाब धमिलो आउनु र कहिलेकाहिँ पिसाबमा रगत समेत देखिनु पनि पत्थरी हुनुको संकेत हुनुको अर्को संकेत हो ।
यदि आफ्ना बालबालिकाले पिसाब फेर्दा रुने, कराउने, चिच्याउने तथा असामान्य स्वभाव देखाउँछ भने अभिभावकले सन्तानमा पत्थरी भएको आशंका गर्न सकिन्छ ।
रोकथामका उपायहरु
–पर्याप्त मात्रामा पानी/तरल पदार्थको सेवन
–अक्सिलेटजन्य खानाको कम उपभोग
–उचित मात्रामा डायटरी क्याल्सियमको प्रयोग
–क्याल्सियल सप्लिमेन्ट्सको प्रयोगबाट टाढै रहने
–प्रोटिनको उचित प्रयोग
–अत्याधिक नुनको सेवनबाट टाढै रहने
–अत्याधिक भिटामिन सी उपलब्ध सप्लिमेन्ट्सको उपभोग नगर्ने ।
यी पक्षमा ध्यान दिदादिदैँ पनि व्यक्तिमा माथि उल्लेखित कुनै लक्षण देखिएमा वा मिर्गौलाको पत्थरीको आशंका लागेमा तुरुन्तै सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्दछ ।