काठमाडौं, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विषाक्त सिसाको बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा निकालेको एक विज्ञप्ति विवादित भएपछि विज्ञप्ति सच्च्याएर लुसुक्क सामाजिक सञ्जालबाट हटाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सप्ताहको अवसरमा विज्ञप्ति निकाल्दै आयुर्वेदिक औषधिमा विषाक्त सिसा (लेड) मिसिने गरेको उल्लेख गरेका थिए ।
मन्त्रालयले नेपालमा भएका अनुसन्धानहरुलाई हवाला दिँदै आयुर्वेदिक औषधिमा विषाक्त सिसा भेटिने गरेको बताएपनि कुन अध्ययन र कस्ता औषधिमा सिसा मिसिने गरेको भनेर खुलाएको छैन ।
अनुसन्धानहरुमा बालबालिका, प्रजनन समुहका वयष्क मानिसहरु, आयूर्वेदिक औषधि सेवन गर्ने बिरामीहरु, सरसफाईकर्मीहरु एवं रंगरोगनमा संलग्न पेन्टरहरुको रगतमा लेड (सिसा) अत्याधिक मात्रामा भएकोमा ध्यानाकर्षण गराइएको छ ।, मन्त्रालयले सुरुमा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुरुको विज्ञप्ति
मन्त्रालयको विज्ञप्ति निक्लिएसँगै आयुर्वेदिक स्वास्थ्यकर्मी समाज लगायतले विज्ञप्ति नै निकालेर मन्त्रालयको विज्ञप्तिको विरोध गरे । आयूर्वेदिक औषधिका बारेमा भ्रम छर्ने विज्ञप्ति मन्त्रालयले निकालेको भन्दै समाजले तत्काल विज्ञप्ति सच्च्याउन माग गर्यो ।
आयुर्वेद चिकित्सकहरुले पनि मन्त्रालयका प्रवक्तालाई सम्पर्क गरेर विज्ञप्ति सच्च्याउन आग्रह गरेपछि अन्ततः मन्त्रालयले विज्ञप्ति सच्च्याएनमात्र फेसबूक पेजबाट नै हटायो । पछि मन्त्रालयले आयुर्वेदिक औषधिको ठाउँमा केहि दर्ता नभएका आयुर्वेदिक औषधि भनेर भाषा सच्च्याएको छ ।
मन्त्रालयको विज्ञप्ति आएपछि समाजका साथै आयुर्वेद चिकित्सकहरुले पनि त्यसप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका छन् । आयुर्वेद चिकित्सक डा. सुमन सत्यालको सामाजिक सञ्जालको टिप्पणी यस्तो छ ।
आयुर्वेद चिकित्सक एवं आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवाली मन्त्रालयले हचुवाको भरमा विज्ञप्ति निकालेर गम्भीर गल्ती गरेको बताउँछन् ।
उनी भन्छन्, ‘प्राय सबै आयुर्वेदिक औषधिमा सिसाको मात्रा प्रशोधनका क्रममा हटाइन्छ । एकदुईवटा औषधिमा भएपनि त्यो विज्ञप्तिमा भनिएको जस्तो क्षति गर्नेगरि हुँदैन ।’
पछिको विज्ञप्ति
यता औषधि व्यवस्था विभागले पनि औषधिमा हानिकारक सिसा हुने भन्ने विज्ञप्ति आउँदा अचम्मित भएको टिप्पणी गरेको छ । विभागका महानिर्देशक नारायण ढकालले औषधिमा प्रयोग गर्न हुने नहुने निरीक्षण र जाँच गर्ने निकायलाई नै थाहा नदिई औषधि हानिकारक भएको विज्ञप्ति निकालिनु दुःखद् भएको बताए ।
यसबारेमा आफुले मन्त्रालयमा जानकारी गराएको र कुनै औषधिको जाँच गरेर हेर्नुपरे विभाग त्यसका लागि तयार रहेको ढकालको भनाइ छ ।