काठमाडौँ, २ कात्तिक । सामान्यतयाः नेपालीहरु चाडपर्व भन्ने बित्तिकै माछामासु र अल्कोहोल समारोह विशेषको रुपमा लिन्छन् । जसले गर्दा शरीमा विभिन्न समस्या उत्पन्न गर्ने सम्भावना उच्च रहन्छ । तसर्थ हाम्रो खानपिनका कारण शरीरमा कुनैपनि समस्या नदेखिन कुनैपनि आहारको सेवन ऋतुचर्याको आधारमा गर्नुपर्ने आयुर्वेद चिकित्सामा उल्लेख छ । यसो गरेमा मात्रै शरीरमा कुनै पनि विकार नदेखिकनै व्यक्तिले स्वस्थ जीवन जिउन सक्छन् ।
ऋतुचर्या भन्नाले ६ वटा ऋतुअनुरुप व्यक्तिको आहार निर्धारित रहनुपर्छ भन्ने बुझिन्छ । यसो भन्दैमा यसका लागि भिन्दाभिन्दै आहार आवश्यक पर्छ भन्नु विल्कुल होइन। बरु प्राकृतिक रुपमै उपलब्ध खानाहरु खान सकिने भएकाले यस्ता आहार झन् सहज रुपमा पाइन्छ ।
कस्ता खाना उपयुक्त ?
हाल शरद ऋतुको याम रहेकोले यस समयमा पित्तलाई सर्पोट गर्ने किसिमको आहार गर्नुपर्छ । अर्थात्, यस समयमा पित्तरस प्रदान गर्ने )तितो), खासाहे (टर्रो) गुलियो किसिमका खानाहरु सेवन गर्नुपर्छ । जसले पित्तप्रकोप हुने सम्भावनालाई न्युन गराउन मद्दत गर्दछ । यसका लागि प्राकृतिक रुपमै उपलब्ध हुने यी आहारहरुलाई आफ्नो खानामा समावेश गर्न सकिन्छ :
-घिरौला
-लौका
-पर्वल
-मुगंको दाल
-पुरानो चामल
-सख्खर
-अमला
-दूध
-जौं
-गहूँ आदि ।
दशैंको सन्दर्भमा भन्नुपर्दा, अधिकांश व्यक्तिले अत्याधिक मसालेदार, चिल्लो र आवश्यकभन्दा बढि खाना एवम् जाडरक्सीको उपभोग गरिरहेका हुन्छन् । यसरी क्षणिक रुपमा मिठो खाना र विलासी जीवनशैलीमा रमाउँदा यसले व्यक्तिमा विभिन्न समस्याहरु निम्त्याउँने सम्भावना उच्च रहन्छ । यसकारण पनि हामीले कस्तो खाना कसरी र कुन समयमा खाने भन्ने विषयमा जान्नु अत्यावश्यक हुन्छ ।
यसका लागि व्यक्तिले यी पक्षमा विशेष ध्यान दिन जरुरी छ :
-प्रत्येक दिन बिहानखाली पेटमा मनतातो पानी आधा गिलास सेवन गर्ने । र, खाना खाएको १/२ घन्टापछि मात्रै आधा वा १ लिटर पानी पिउने ।
-खाना खादा आवश्यकभन्दा बढि वा इच्छा अनुसार नभई शरीरको क्षमता अनुरुप खाने । जस्तोः कुनै व्यक्तिलाई १ सय ग्राम खान इच्छा भए सो व्यक्तिले ९० ग्राम मात्रै खाना उपभोग गर्ने ।
-चाडपर्वमा व्यक्तिको अरुको करमा अलिअलि मात्रै भएपनि खाना खाइरहने बानी हुन्छ । -अझ माछामासुको सेवन नि गरिरहने हुन्छ । तसर्थ सो खाना नपचेसम्म अर्को खाना नखाने
-भोक नलागेसम्म नखाने
-अल्कोहोलको सेवनबाट टाढै रहने
-कम चिल्लो र मसालेदार खानाको सेवन गर्ने
-खाएको खाना शरीरले राम्ररी पचाओस् भन्नका लागि नियमित शारीरिक व्यायाम गराउने
-उचित निन्द्रा सुत्ने
-चिसो पेय पदार्थभन्दा पानी तथा सुपलाई प्राथमिकता दिने
-र, शरीरमा केहि समस्या देखिए चिकित्सकको परामर्श लिने ।