काठमाडौं । मानसिक समस्याका सम्बन्धमा अधिकांशमा भ्रम रहने गरेको विज्ञहरुले बताएका छन् । मानसिक रोगका बारेमा समाजमा रहेको संकीर्णता र भ्रमका कारण मानसिक समस्या भएका व्यक्तिहरु उपचारको सहज पहुँचमा पुग्न नसकेको उनीहरुको भनाइ छ ।
मंगलबार ‘मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकार हो’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । यस्तो अवस्थामा नेपाली समाजमा रहेका मानसिक रोगसम्बन्धी भ्रमहरुलाई चिर्नुपर्ने मनोचिकित्सक डा. प्रेरणा झाको भनाइ छ । स्वास्थ्य डायरीसँग कुरा गर्दै डा. झाले नेपाली समाजमा मूलतः तीनवटा भ्रम रहेको बताइन् ।
१. बालबालिका र किशोरकिशोरीलाई उपेक्षा
बालबालिका र किशोरकिशोरीलाई पनि मानसिक समस्या रहेको हुनसक्छ । तर, बच्चाहरुलाई के तनाव हुन्छ र भनेर नेपाली समाजमा बालबालिका र किशोरकिशोरीलाई उपेक्षा गर्दा गम्भीर मानसिक समस्याका कारण कतिपयले मृत्यु्वरण गरेका छन् । आत्महत्या जस्तो गम्भीर दुर्घटना मानसिक समस्याका कारणले हुन्छ । यसर्थ बालबालिका र किशोरावस्थामा पनि मानसिक रोगको शिकार हुनसक्छन् । उनीहरुसँग यसका बारेमा खुलेर कुरा गर्ने, साथ, सहयोग र हौसला दिने गर्नुपर्दछ । बढिजसो बालबालिका र किशोरकिशोरीमा मानसिक समस्या भएपनि पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्याका रुपमा प्रकट हुनसक्छ । यसबाट झुक्किनु हुँदैन ।
२. जीवनभर औषधि खानुपर्छ
मानसिक समस्यालाई लिएर अर्को भ्रम रहेको छ । मानसिक समस्यामा एकपटक औषधि खाएपछि जीवनभर खानुपर्ने मान्यता रहेको छ । तर, यस्तो नहुने डा. झा बताउँछिन् । उनका अनुसार कतिपय अवस्थामा औषधि छाडेर सामान्य जीवनमा फर्किन सकिन्छ । एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्यामा खाइने औषधि चिकित्सकको निगरानीमा छाड्न सकिन्छ । त्यसैले जीवनभर औषधि खानुपर्छ भने भ्रम र झुठो मान्यता पाल्न नहुने विज्ञको भनाइ छ ।
३. शारीरिक स्वास्थ्यप्रति मात्र संवेदनशील
मानिसहरु शारीरिक स्वास्थ्यका बारेमा बढि सजग र चिन्तित हुन्छन् । तर, मानसिक स्वास्थ्यका बारेमा उनीहरु बेपरवाह हुनेगर्छन । जसका कारणले मानिसहरु सिभियर डिप्रेसनको शिकार भई आत्महत्यासम्म पुग्छन् । मानिसहरु शारीरिक स्वास्थ्यका बारेमा कुरा गर्न र उपचार लाग्न सचेत हुन्छ । तर, मानसिक समस्या बोकेर दबाबपुर्ण जीवन बाँचिरहेको हुनसक्छ । यस्ता विषयमा सचेतना अभिवृद्धि हुनुपर्ने मानसिक रोग विशेषज्ञ डा. प्रेरणा झाले बताइन् ।
डा. प्रेरणा झाको भिडियो हेर्नुहोस् ।