काठमाडौं, १५ असोज । चिकित्सकमाथि देशभर दुव्र्यवहार बढेको भनेर चिकित्सा क्षेत्र आन्दोलित भइरहेकै बेला सोमबार सोलुखुम्बुमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको छ ।
जिल्लाको फाप्लुस्थित जिल्ला अस्पताल कार्यालयमा सोमबार साँझ ४ः३० बजेतिर दुर्घटनामा परेर अस्पतालमा आएका घाइतेले चिकित्सकमाथि दुव्र्यवहार गरेको जिल्ला अस्पताल फाप्लुले विज्ञप्ति निकालेर जनाएको छ । अस्पतालका अनुसार ती व्यक्तिले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्दै भौतिक संरचना तोडफोड गर्न लागेपछि नियन्त्रणमा लिएर स्थानीय प्रशासनको जिम्मा लगाइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रशान्त झा सहित १४ जना चिकित्सक एवं स्वास्थ्यकर्मीले विज्ञप्ति निकाल्दै स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि देशभरिका अस्पतालमा कुटपिटको घटना भइरहेको भन्दै दोषीहरु माथि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि पहिलो संशोधन ऐन २०७९ अनुसार बिना धरौटी जेल चलान गरेर कार्वाही गर्न माग गरेको छ ।
देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र दुव्र्यवहारको घटनामा वृद्धि भएपछि देशैभरका चिकित्सक यतिबेला आन्दोलित छन् । आन्दोलनमा रहेका चिकित्सकलाई काममा फर्काउन सरकारले विभिन्न छलफल र सम्झौता गरिरहेको छ ।