काठमाडौं, २८ भदौ । हेटौंडामा रहेको सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने दोषीमाथि ७२ घण्टाभित्र कार्वाही नगरे नेपाल चिकित्सक संघले उपचार सेवा ठप्प पार्नेसम्मको चेतावनी दिएको छ ।
सन्चो अस्पतालमा बुधवार कार्यस्थलमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त मुडवरीमाथि कुटपिट भएपछि चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले बिहीवार पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।
गत साउन २२ गते सन्चो अस्पतालबाट चितवन रिफर गरिएका एकजना डेंगुका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले सन्चो अस्पताल र त्यहाँका चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालसँग क्षतिपूर्ति माग्ने र धम्कि दिने कार्य भइरहेकोमा ती व्यक्तिहरु बुधवार अस्पताल गएर छलफलको बहानामा हातपातमा उत्रिएका हुन् । घटनापछि घाइते चिकित्सक थप उपचार र सुरक्षाको माग गर्दै राजधानी आएका छन् ।
नेपाल चिकित्सक संघले सो घटनापछि आक्रोशित हुँदै दोषीमाथि कार्वाही गर्न सरकारसँग माग गरेको हो । संघको टोलीले बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर दोषीमाथि कार्वाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ कार्यान्वयन गरेर सोमा व्यवस्था भएअनुसार चिकित्सकमाथि आक्रमण गर्नेलाई बिना धरौटी थुनामा राखेर अनुसन्धान गर्न माग गरेका छन् ।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले सकरात्मक प्रतिक्रिया दिएको र हेटौंडाको घटनालाई तत्काल छानवीन गरि कार्वाहीको दायरामा ल्याउन मातहतको निकायलाई निर्देशन दिएको भेटमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्य डायरीलाई बताए ।
त्यस्तै संघले बिहीवार नै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पनि भेटेर स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तुरुन्तै कार्वाही गर्न र स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्न ज्ञापनपत्र बुझाइएको संघका महासचिव डा. सञ्जिव तिवारीले बताए । संघले आफ्ना माग पुरा नभए उपचार सेवा नै बन्द गर्नेसम्मको संघर्षमा जान बाध्य हुने र सो को जिम्मेवार सरकार हुने उनको भनाइ छ ।