सुर्खेत,२१ असार । सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।
नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन् । तर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलबबाट बञ्चित छन् । तलब नपाउँदा घर खर्च टार्नसमेत समस्या भएको उनीहरुको गुनासो छ । तलब नदिँदा दैनिक जीवनयापन गर्न समस्या भएको सिअनमी राजेन्द्रकुमारी थापाले बताए ।
उनले भने, “पहिला स्वास्थ्य मन्त्रालयले समायोजनमा पठाउने र नगरपालिकाले पनि तलब दिन सक्छौँ भनेर राख्ने, अहिले समायोजन फिर्ता गराउन खोजिएको छ, यो कदापी स्वीकार्य छैन ।हामीले खाइपाइ आएको तलब पाउनुपर्छ ।”
नगरपालिकामा कर्मचारीले तलबभत्ता नपाउँदा कर्मचारी मारमा परेको उत्तरगङ्गा स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव उदय थापाले बताए । सजिलो बनाउने गरी स्वास्थ्य मन्त्रालयले समायोजनमा जाने निर्णय गरेको उल्लेख गर्दै उहाँले अहिले आफूहरू तलबबाट वञ्चित हुनुपरेको बताए ।
जनस्वास्थ्य अधिकृत भूपेन्द्रदेव गिरीले कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ अन्तर्गत ३८ कर्मचारी स्वास्थ्य मन्त्रालयले पठाएको जानकारी दिए। त्यसपछि फेरि मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था, २०७७ मा ५६ कर्मचारीलाई पठाएको उनले बताए । “बजेट अभावले कर्मचारीलाई तलब खुवाउन सकिएको छैन”, उनको भनाइ छ ।