काठमाडौं, ९ जेठ । त्रिभूवन विश्वविद्यालय महाराजगञ्ज नर्सिङ्ग क्याम्पसकी प्रमुख मुना रानाले करिब १२ लाख हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परको छ ।
क्याम्पसको स्ववीयु कोष र पाठ्याक्रम विकास कोषको करिब ११ लाख ७४ हजार रकम क्याम्पस प्रमुख प्राध्यापक रानाले आफ्नो खातामा अबैध रुपमा ट्रान्सफर गरेको भन्दै एमालेनिकट अनेरास्ववीयुका अध्यक्ष समिक वडालको नेतृत्वमा गएका विद्यार्थीले उजुरी दर्ता गराएका हुन् ।
क्याम्पस प्रमुखले गरेको हिनामिनाका बारेमा डीन कार्यालयमा उजुरी दिँदा डीन कार्यालयले पनि उदासिनता देखाएको भन्दै उजुरीउपर अनुसन्धान नगर्ने डीन कार्यालयमाथि पनि छानवीन गर्न उजुरीमा माग गरिएको छ । उक्त उजुरी आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको छ ।