काठमाडौं, ६ जेठ । सबैका लागि स्वास्थ्य कार्यक्रम चलाउने, जीवन बचाउने भन्ने नाराका साथ विश्व स्वास्थ्य संगठनको ७६ औं महासभा आइतवारदेखि स्वीट्जरल्याण्डको जेनेभामा सुरु हुँदै छ ।
महासभामा मूलभूत रुपमा संगठनले गरेका विविध गतिविधिका साथै कोभिड महामारी र त्यसले निम्त्याएका जनस्वास्थ्य चुनौतिका बारेमा छलफल हुनेछ । यस्तै महासभामा दिगो विकासको लक्ष्यमा समावेश गरिएका स्वास्थ्यका सूचकांकहरुको प्रगतिका बारेमा पनि चर्चा हुनेछ । महासभा विश्व स्वास्थ्य संगठन सञ्चालनको दिगो र तत्कालका लागि दुईवर्षे आर्थिक स्रोतको निर्धारणका बारेमा पनि केन्द्रित हुने जनाइएको छ । सन् १९४८ देखि अघिल्लो महासभाका बीचमा संगठनले खेलेको भूमिका र गरेका कार्यहरुको प्रगति विवरण पनि महासभामा प्रस्तुत गरिने भएको छ ।
महासभामा सहभागी विश्वभरका प्रतिनिधिले विश्व जनस्वास्थ्यको चुनौति र त्यसमा संगठनको भूमिकाका बारेमा धारणा राख्नेछन् ।
‘हाम्रा विगतका उपलब्धिहरुमा हामी गर्व गर्छौं यद्यपी कोभिड महामारीले निम्त्याएको संकट र त्यसबाट उठेपछि सबै मानिसको स्वस्थ हुनपाउने अधिकारलाई कसरी प्रत्याभूत गर्ने भन्नेमा पनि हामी गम्भीर हुनुपर्नेछ; संगठनका महासचिव डा. टेड्रोसले भनेका छन् । ‘यसको अर्थ स्वास्थ्य आपतकालिन तयारी, प्रतिक्रिया र लचिलोपनको लागि विश्वव्यापी संरचनालाई सुदृढ पार्ने, विश्वव्यापी स्वास्थ्य कभरेजको बाटोमा रहेका देशहरूलाई समर्थन गर्ने, र बलियो, दिगो रूपमा वित्तीय व्यवस्थाको प्रत्याभूत गर्ने र जवाफदेही डब्ल्यूएचओ निर्माण गर्नु हो।’ उनले थपे ।
स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेदेखि सुरु हुने महासभाको सुरुमा वाक फर हेल्थ शीर्षकमा शारीरिक र मानसिक स्वास्थ्य प्रवद्र्धनको कार्यक्रममा सबैलाई सहभागी गराइने छ । त्यसका अलावा कार्यक्रम संगठनका पदाधिकारीले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रतिनिधिहरुले आआफ्ना देशका जनस्वास्थ्य अवस्थाका बारेमा कुरा गर्नेछन् । संगठनले जनस्वास्थ्यमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई पुरस्कार र जीवनपर्यन्त उपलब्धि पदकहरु पनि वितरण गर्नेछ ।
संगठनको महासभाले डब्लुएचओका लागि सन् २०२४ र २५ का लागि बजेटपनि अनुमोदन गर्नेछ । संगठनको महासभामा भाग लिन नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा ६ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा, सुर्खेत अस्पतालका मेसु डा. डम्बर खड्का, उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. अनुप बास्तोला, डा.पोमा थापा र स्वास्थ्य मन्त्रीका स्वकीय सचिव रामेश्वर आचार्य रहेका छन् ।महासभा विभिन्न कार्यक्रमको आयोजना गरि ३० मे मा सम्पन्न हुनेछ ।