काठमाडौं, १७ कार्तिक । विवादास्पद मेडिकल कलेज व्यवसायी खुमा अर्याल लगायत सञ्चालक रहेको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा प्रशासनको ‘इगो’का कारण तीन सातायता सिर्जित तनाव अझै साम्य हुनसकेको छैन ।
नेपाली काँग्रेसका नेता समेत रहेका अर्याल तीनै व्यवसायी हुन् जो गत २०७६ सालमा गण्डकी मेडिकल कलेजमार्फत विद्यार्थीबाट १५ लाखसम्म बढि शुल्क असुल गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए ।
उनै शर्मा प्रबन्ध निर्देशक भएको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा प्रशासनको ‘दादागिरी’ विरुद्ध विद्यार्थी आन्दोलित भएको तीनसाता नाघिसकेको छ । ड्रेस कोडलाई लिएर कलेजकी प्रिन्सिपल डा. लक्ष्मी पाठक र विद्यार्थीबीच बढेको विवाद उत्कर्षमा पुगेपछि कलेजका विद्यार्थीहरु अनशन र धर्नामार्फत आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबारसम्म आउँदा १९ औं दिन धर्ना गरिरहेका विद्यार्थीहरुले कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीसँग सहमति भएको अफवाह फैलाएको गुनासो गरे । कलेज प्रशासनसँग आन्दोलनरत पक्षको छलफल मात्र भएको तर, कुनै निश्कर्ष ननिक्लेको भन्दै आन्दोलनरत एक विद्यार्थीले भने, ‘हामीले प्रशासनसँग छलफल गरेको हो, तर कुनै सहमति वा सम्झौता भएको छैन । तर, कलेजले सहमति भएको भ्रामक प्रचार गरिरहेको छ ।’
के थियो विषय ? कलेजमा विद्यार्थीहरुको ड्रेसलाई लिएर विवाद सुरु भएको थियो । एमबीबीएस तेश्रो वर्ष र चौथो वर्षका विद्यार्थीलाई कलेजले पहेँलो सर्ट र पेन्ट पोशाकका रुपमा तोकेको थियो । तर, विद्यार्थीहरुले पोशाकमा खल्ती पनि राख्न र महिला विद्यार्थीलाई कुर्ता सुरुवाल पोशाक दिन अनुरोध गरेका थिए । त्यही विषयमा विद्यार्थी र प्रधानाध्यापक डा. पाठकबीच विवाद भएको थियो । विधार्थीहरुको अनुरोधलाई लत्याउँदै उनले उल्टो विद्यार्थीहरुलाई हप्कीदप्की गरेर ‘प्रिन्सिपलसँग प्रतिवाद गर्ने विद्यार्थीको हैसियत नभएको’ बताउने गरेको आन्दोलनरत एक विद्यार्थीले स्वास्थ्य डायरीलाई बताए ।
रिले अनसनको १९ औं दिनमा आन्दोलनरत विद्यार्थी
नियमविपरित मौका परीक्षा रोकिदिँदा विद्यार्थी डिप्रेसनमा आन्दोलनको मुल विषय सानोजस्तो देखिएपनि कलेज प्रशासनमा प्रधानाध्यापक डा. लक्ष्मी पाठकले विद्यार्थीहरुलाई गरेको अत्याचारका विरुद्धको विद्रोह भएको त्यहाँका एक विद्यार्थीले बताए ।
नाम नबताउने शर्तमा ती विद्यार्थीले प्रिन्सिपल पाठकको ज्यादतिका कारण केही विद्यार्थीहरु मौका परीक्षा दिन नपाएर मानसिक रुपमा विक्षिप्त भएको बताए । त्रिभूवन विश्वविद्यालयको नियमविपरित कलेजले आन्तरिक नियम खडा गरेर विद्यार्थीहरुलाई मौका परीक्षा दिनबाट रोकिएको ती विद्यार्थीको दावी छ ।
‘यहाँका केही विद्यार्थी साथीहरुको त्रिभूवन विश्वविद्यालयको नियमविपरित मौका परीक्षा रोकियो । एकजना साथी ले त डिप्रेसनको औषधि खाइरहनुभएको छ । यो हदसम्मको अन्याय पनि हुन्छ सर ?’ उनले प्रश्न गरे ।
विद्यार्थी र कलेज प्रशासनबीच जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको रहोबरमा छलफल भएपनि अझै समाधान निस्कन सकेको छैन । विद्यार्थीहरुको आन्दोलनलाई कलेजले उपेक्षा गर्दा हाल कलेजको सबै पठनपाठन बन्द छ । विद्यार्थीको आन्दोलनलाई युनिभर्सल मेडिकल साइन्सेस, शिक्षण अस्पतालका आवासीय चिकित्सकले पनि साथ दिएका छन् ।
विद्यार्थीहरुको माग पुरा गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनले पनि आवाज उठाएका छन् । कलेजमा एमबीबीएस, बिडिएस, एमडी, एमएस लगायत विद्यामा ७ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
तीनसाता देखि कलेजको पठनपाठन बन्द हुँदापनि कलेजको मूल नेतृत्वले त्यस विषयमा छलफल नै गर्न नखोजेको विद्यार्थीहरुको आरोप छ ।
पावर नभएको भन्दै सिईओ पन्छिने, सञ्चालकहरु सम्पर्कमै नआउने पठनपाठन अवरुद्ध भएपनि विद्यार्थीबाट आउने शुल्क नरोकिने भएपछि कलेज प्रशासनले आन्दोलन रोक्न खासै पहल गरेको छैन । विद्यार्थीहरुका अनुसार प्रिन्सिपलले आफ्नो अड्डी नछाड्ने, सिईओ अजय कुमार पिएसले आफ्नो अधिकार नरहेको भन्दै पन्छिने गरेका छन् ।
यस विषयमा स्वास्थ्य डायरीले प्रतिक्रिया लिन खोज्दा कलेजकी प्रिन्सिपल डा. लक्ष्मी पाठकले बोल्न चाहिनन् । उनले सन्देश पठाउँदै भनिन्, ‘म आजकल तनावमा छु । यो विषय सक्किसक्यो ।’
डा. लक्ष्मी पाठक, प्रिन्सिपल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस
विद्यार्थीहरुका अनुसार सिईओले आफ्नो अधिकार नभएको भन्दै पन्छिने गरेका छन् । उनले विद्यार्थीहरुलाई ‘सञ्चालकहरुसँगै वार्ता गर्नू’ भनेका छन् ।
विद्यार्थीहरुको दावी अनुसार कलेजका अध्यक्ष रमेश शर्मा, प्रबन्ध निर्देशक खुमा अर्याल लगायत भने आन्दोलनरत विद्यार्थीको सम्पर्क मै आएका छैनन् । सञ्चालकहरु सम्पर्कमा नआउँदा हालसम्म वार्ताले सकरात्मक दिशा लिएको छैन ।
स्वास्थ्य डायरीसँग कुरा गर्दै कलेजका प्रबन्ध निर्देशक खुमा अर्यालले विद्यार्थीहरुको मुख्य माग पुरा भैसकेको दावी गरे । ‘उनीहरुको मुख्य माग पुरा भैसक्यो, अन्य मागका लागि विद्यार्थीहरु वार्तामा आउनुभएको छैन । हाम्रो प्रमुख कार्यकारी अधिकृत र कम्पनीसचिवलाई सबै थाहा छ ।’
अर्यालले कलेज आफुहरुले बन्द नगरेकाले पठनपाठन बन्द हुनुको जिम्मेवारी विद्यार्थीले नै लिनुपर्ने बताए ।
ड्रेस कोड मान्छौं, विद्यार्थीमाथिको अत्याचार बन्द हुनुपर्छः विद्यार्थी कलेजका विद्यार्थीहरुले आफुहरुले ड्रेस कोडमा असन्तुष्टि जनाएपनि आन्दोलनको कारण ड्रेसकोडमात्रै नभएको बताए । कलेजको ड्रेसकोड विद्यार्थीले मान्नुपर्दैन ? भन्ने प्रश्नमा आन्दोलनरत एक विद्यार्थीले भने, ‘हामीले ड्रेसकोड मान्छौं, अलि सजिलो ड्रेस बनाउनुस् मात्रै भनेका हौं । हाम्रो कलेज प्रिन्सिपलले गरेको दुव्र्यवहार र अत्याचारविरुद्धको लडार्ईं हो । उहाँको राजनीमा नआउँदासम्म वा उहाँलाई नहटाउँदासम्म आन्दोलन जारी रहन्छ ।’
कलेज प्रिन्सिपल पाठक यसअघि पनि उक्त कलेजको प्रिन्सिपल रहेकी थिइन् । सो समयमा कलेजको दवाव थेग्न नसकेर भन्दै राजीनामा दिएपनि उनी पुनः कलेजमा प्रिन्सिपल बनेर फर्किएकी हुन् ।
नोटः विद्यार्थीहरुको गोपनियता र उनीहरुलाई हुनसक्ने शैक्षिक, मानसिक क्षतिलाई मध्यनजर गर्दै हामीसँग कुरा गर्ने विद्यार्थीहरुको नाम गोप्य राखिएको छ ।