काठमाडौं, १७ कार्तिक । विवादास्पद मेडिकल कलेज व्यवसायी खुमा अर्याल लगायत सञ्चालक रहेको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा प्रशासनको ‘इगो’का कारण तीन सातायता सिर्जित तनाव अझै साम्य हुनसकेको छैन ।
नेपाली काँग्रेसका नेता समेत रहेका अर्याल तीनै व्यवसायी हुन् जो गत २०७६ सालमा गण्डकी मेडिकल कलेजमार्फत विद्यार्थीबाट १५ लाखसम्म बढि शुल्क असुल गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए ।
उनै शर्मा प्रबन्ध निर्देशक भएको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा प्रशासनको ‘दादागिरी’ विरुद्ध विद्यार्थी आन्दोलित भएको तीनसाता नाघिसकेको छ । ड्रेस कोडलाई लिएर कलेजकी प्रिन्सिपल डा. लक्ष्मी पाठक र विद्यार्थीबीच बढेको विवाद उत्कर्षमा पुगेपछि कलेजका विद्यार्थीहरु अनशन र धर्नामार्फत आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबारसम्म आउँदा १९ औं दिन धर्ना गरिरहेका विद्यार्थीहरुले कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीसँग सहमति भएको अफवाह फैलाएको गुनासो गरे । कलेज प्रशासनसँग आन्दोलनरत पक्षको छलफल मात्र भएको तर, कुनै निश्कर्ष ननिक्लेको भन्दै आन्दोलनरत एक विद्यार्थीले भने, ‘हामीले प्रशासनसँग छलफल गरेको हो, तर कुनै सहमति वा सम्झौता भएको छैन । तर, कलेजले सहमति भएको भ्रामक प्रचार गरिरहेको छ ।’
के थियो विषय ?
कलेजमा विद्यार्थीहरुको ड्रेसलाई लिएर विवाद सुरु भएको थियो । एमबीबीएस तेश्रो वर्ष र चौथो वर्षका विद्यार्थीलाई कलेजले पहेँलो सर्ट र पेन्ट पोशाकका रुपमा तोकेको थियो । तर, विद्यार्थीहरुले पोशाकमा खल्ती पनि राख्न र महिला विद्यार्थीलाई कुर्ता सुरुवाल पोशाक दिन अनुरोध गरेका थिए । त्यही विषयमा विद्यार्थी र प्रधानाध्यापक डा. पाठकबीच विवाद भएको थियो । विधार्थीहरुको अनुरोधलाई लत्याउँदै उनले उल्टो विद्यार्थीहरुलाई हप्कीदप्की गरेर ‘प्रिन्सिपलसँग प्रतिवाद गर्ने विद्यार्थीको हैसियत नभएको’ बताउने गरेको आन्दोलनरत एक विद्यार्थीले स्वास्थ्य डायरीलाई बताए ।
नियमविपरित मौका परीक्षा रोकिदिँदा विद्यार्थी डिप्रेसनमा
आन्दोलनको मुल विषय सानोजस्तो देखिएपनि कलेज प्रशासनमा प्रधानाध्यापक डा. लक्ष्मी पाठकले विद्यार्थीहरुलाई गरेको अत्याचारका विरुद्धको विद्रोह भएको त्यहाँका एक विद्यार्थीले बताए ।
नाम नबताउने शर्तमा ती विद्यार्थीले प्रिन्सिपल पाठकको ज्यादतिका कारण केही विद्यार्थीहरु मौका परीक्षा दिन नपाएर मानसिक रुपमा विक्षिप्त भएको बताए । त्रिभूवन विश्वविद्यालयको नियमविपरित कलेजले आन्तरिक नियम खडा गरेर विद्यार्थीहरुलाई मौका परीक्षा दिनबाट रोकिएको ती विद्यार्थीको दावी छ ।
‘यहाँका केही विद्यार्थी साथीहरुको त्रिभूवन विश्वविद्यालयको नियमविपरित मौका परीक्षा रोकियो । एकजना साथी ले त डिप्रेसनको औषधि खाइरहनुभएको छ । यो हदसम्मको अन्याय पनि हुन्छ सर ?’ उनले प्रश्न गरे ।
विद्यार्थी र कलेज प्रशासनबीच जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको रहोबरमा छलफल भएपनि अझै समाधान निस्कन सकेको छैन । विद्यार्थीहरुको आन्दोलनलाई कलेजले उपेक्षा गर्दा हाल कलेजको सबै पठनपाठन बन्द छ । विद्यार्थीको आन्दोलनलाई युनिभर्सल मेडिकल साइन्सेस, शिक्षण अस्पतालका आवासीय चिकित्सकले पनि साथ दिएका छन् ।
विद्यार्थीहरुको माग पुरा गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनले पनि आवाज उठाएका छन् । कलेजमा एमबीबीएस, बिडिएस, एमडी, एमएस लगायत विद्यामा ७ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
तीनसाता देखि कलेजको पठनपाठन बन्द हुँदापनि कलेजको मूल नेतृत्वले त्यस विषयमा छलफल नै गर्न नखोजेको विद्यार्थीहरुको आरोप छ ।
पावर नभएको भन्दै सिईओ पन्छिने, सञ्चालकहरु सम्पर्कमै नआउने
पठनपाठन अवरुद्ध भएपनि विद्यार्थीबाट आउने शुल्क नरोकिने भएपछि कलेज प्रशासनले आन्दोलन रोक्न खासै पहल गरेको छैन । विद्यार्थीहरुका अनुसार प्रिन्सिपलले आफ्नो अड्डी नछाड्ने, सिईओ अजय कुमार पिएसले आफ्नो अधिकार नरहेको भन्दै पन्छिने गरेका छन् ।
यस विषयमा स्वास्थ्य डायरीले प्रतिक्रिया लिन खोज्दा कलेजकी प्रिन्सिपल डा. लक्ष्मी पाठकले बोल्न चाहिनन् । उनले सन्देश पठाउँदै भनिन्, ‘म आजकल तनावमा छु । यो विषय सक्किसक्यो ।’
विद्यार्थीहरुका अनुसार सिईओले आफ्नो अधिकार नभएको भन्दै पन्छिने गरेका छन् । उनले विद्यार्थीहरुलाई ‘सञ्चालकहरुसँगै वार्ता गर्नू’ भनेका छन् ।
विद्यार्थीहरुको दावी अनुसार कलेजका अध्यक्ष रमेश शर्मा, प्रबन्ध निर्देशक खुमा अर्याल लगायत भने आन्दोलनरत विद्यार्थीको सम्पर्क मै आएका छैनन् । सञ्चालकहरु सम्पर्कमा नआउँदा हालसम्म वार्ताले सकरात्मक दिशा लिएको छैन ।
स्वास्थ्य डायरीसँग कुरा गर्दै कलेजका प्रबन्ध निर्देशक खुमा अर्यालले विद्यार्थीहरुको मुख्य माग पुरा भैसकेको दावी गरे । ‘उनीहरुको मुख्य माग पुरा भैसक्यो, अन्य मागका लागि विद्यार्थीहरु वार्तामा आउनुभएको छैन । हाम्रो प्रमुख कार्यकारी अधिकृत र कम्पनीसचिवलाई सबै थाहा छ ।’
अर्यालले कलेज आफुहरुले बन्द नगरेकाले पठनपाठन बन्द हुनुको जिम्मेवारी विद्यार्थीले नै लिनुपर्ने बताए ।
ड्रेस कोड मान्छौं, विद्यार्थीमाथिको अत्याचार बन्द हुनुपर्छः विद्यार्थी
कलेजका विद्यार्थीहरुले आफुहरुले ड्रेस कोडमा असन्तुष्टि जनाएपनि आन्दोलनको कारण ड्रेसकोडमात्रै नभएको बताए । कलेजको ड्रेसकोड विद्यार्थीले मान्नुपर्दैन ? भन्ने प्रश्नमा आन्दोलनरत एक विद्यार्थीले भने, ‘हामीले ड्रेसकोड मान्छौं, अलि सजिलो ड्रेस बनाउनुस् मात्रै भनेका हौं । हाम्रो कलेज प्रिन्सिपलले गरेको दुव्र्यवहार र अत्याचारविरुद्धको लडार्ईं हो । उहाँको राजनीमा नआउँदासम्म वा उहाँलाई नहटाउँदासम्म आन्दोलन जारी रहन्छ ।’
कलेज प्रिन्सिपल पाठक यसअघि पनि उक्त कलेजको प्रिन्सिपल रहेकी थिइन् । सो समयमा कलेजको दवाव थेग्न नसकेर भन्दै राजीनामा दिएपनि उनी पुनः कलेजमा प्रिन्सिपल बनेर फर्किएकी हुन् ।
नोटः विद्यार्थीहरुको गोपनियता र उनीहरुलाई हुनसक्ने शैक्षिक, मानसिक क्षतिलाई मध्यनजर गर्दै हामीसँग कुरा गर्ने विद्यार्थीहरुको नाम गोप्य राखिएको छ ।