काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको दर्ता, नवीकरण र प्रमाणपत्र प्रमाणीकरण प्रक्रियालाई अनलाइन प्रणालीमा लैजाने भएको छ। परिषद्ले दर्ता तथा नवीकरण अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाउनुका साथै प्रमाणपत्रमा क्यूआर कोड राख्ने र स्वास्थ्य व्यवसायीको कार्यक्षेत्र निर्धारण गर्ने तयारी गरेको छ।
परिषद्का अध्यक्ष सगुन पौडेलका अनुसार सेवा प्रवाहमा रहेका प्रक्रियागत जटिलता हटाउँदै संस्थालाई पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउन संस्थागत सुधारका कार्यक्रम अघि बढाइएको हो। सुधार योजनामा कानुनी व्यवस्था परिमार्जन, अनुगमन प्रणाली सुदृढीकरण र सेवाको सहज पहुँचलाई प्राथमिकता दिइएको छ।
नयाँ डिजिटल प्रणाली लागू भएपछि स्वास्थ्य व्यवसायीले दर्ता तथा नवीकरणका लागि परिषद्मा भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट कम हुनेछ। परिषद्बाट जारी प्रमाणपत्रको आधिकारिकता क्यूआर कोड स्क्यान गरेरै जाँच गर्न सकिनेछ। त्यस्तै, दर्ता तथा प्रमाणपत्रको अवस्थाबारे आफैँ जानकारी लिन सकिने ‘नो योर स्टाटस’ प्रणाली पनि विकास गरिनेछ।
परिषद्का रजिष्ट्रार रमेश श्रेष्ठका अनुसार स्वास्थ्य व्यवसायीको शैक्षिक योग्यता, दर्ता र अभ्याससम्बन्धी व्यवस्थालाई एकरूप बनाउन विभिन्न निर्णय गरिएको छ। मास्टर अफ पब्लिक हेल्थ (एमपीएच) लगायत स्नातकोत्तर तहका विशेषज्ञता दर्तालाई निरन्तरता दिइनेछ।
त्यसैगरी, ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) र एमपीएच अध्ययन गरेका जनशक्तिको कार्यक्षेत्र तथा अभ्यासको दायरा (स्कोप अफ प्राक्टिस) निर्धारण गरी प्रमाणपत्र जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्य व्यवसायीले आफ्नो शैक्षिक योग्यता र निर्धारित कार्यक्षेत्रभन्दा बाहिर गएर सेवा प्रदान गर्न नपाउने व्यवस्था प्रभावकारी बनाउने परिषद्को योजना छ।
दर्ता तथा नवीकरण प्रक्रियामा प्रिस्क्रिप्सन, रेफरल स्लिप र व्यावसायिक आचारसंहितासम्बन्धी व्यवस्थासमेत समेटिनेछन्। यसबाट स्वास्थ्य सेवाको अभ्यासमा व्यावसायिक मर्यादा र जिम्मेवारी कायम हुने परिषद्को अपेक्षा छ।
स्वास्थ्य व्यवसायीको कामकारबाहीलाई व्यवस्थित र मर्यादित बनाउन परिषद्ले विद्यमान कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्ने तयारी गरेको छ। यसका लागि कार्यदल गठन गरी कानुनी तथा नीतिगत पक्षको अध्ययन गरिने अध्यक्ष पौडेलले जानकारी दिए।

स्वास्थ्य व्यवसायीविरुद्ध परेका उजुरीको छानबिन, अनुगमन तथा कारबाही प्रक्रियालाई प्रभावकारी बनाउने योजना पनि परिषद्ले अघि सारेको छ। स्वास्थ्य संस्थाको नियमित निरीक्षण, व्यवसायीको आचारसंहिता परिमार्जन र नियमन प्रणाली सुदृढीकरणलाई प्राथमिकता दिइनेछ।
दर्ता परीक्षालाई थप विश्वसनीय र पारदर्शी बनाउन परिषद्ले प्रश्न बैंक तयार गर्ने भएको छ। प्रश्नपत्र निर्माण तथा व्यवस्थापन प्रक्रियाको समीक्षा गरी परीक्षामा एकरूपता कायम गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, शैक्षिक अनुसन्धानलाई प्रोत्साहन गर्न विद्यार्थीलाई ‘स्टुडेन्ट थेसिस ग्रान्ट’ उपलब्ध गराउने र परिषद्को वार्षिक जर्नल प्रकाशन गर्ने कार्यक्रम पनि अघि बढाइनेछ। परिषद्को आगामी पाँच वर्षको संस्थागत विकास योजना तयार गर्ने तयारीसमेत गरिएको छ।
स्वास्थ्य जनशक्तिसम्बन्धी नीतिगत विषयमा छलफल र समन्वय विस्तार गर्न स्वास्थ्य मन्त्रालय, नियामक निकाय, शिक्षण संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरिने परिषद्ले जनाएको छ।
आफ्ना सेवा तथा गतिविधिबारे सेवाग्राहीलाई जानकारी गराउन सचेतनामूलक भिडियो सामग्री उत्पादन गर्ने र प्रमाणपत्र तथा पत्यारपत्रलाई डिजिटल अभिलेखमा राख्ने योजना पनि परिषद्को छ।
परिषद्को नयाँ कार्ययोजनाले प्रशासनिक सेवालाई प्रविधिमैत्री बनाउनुका साथै स्वास्थ्य व्यवसायीको योग्यता, कार्यक्षेत्र र व्यावसायिक आचरणलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।








