काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्सम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा रहेको डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन नेपालसँग वार्ता गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ ।
मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै वार्ता समिति गठन गरेको हो । मन्त्रालयले एसोसिएसनलाई पत्र पठाएर वार्ता तथा संवादमार्फत समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गरेको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान र विगतमा भएका सहमति कार्यान्वयनलगायत माग राख्दै एसोसिएसनले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ । आन्दोलनरत पक्षका मागलाई वार्तामार्फत सम्बोधन गर्ने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

गठित वार्ता समितिको संयोजकमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेल रहेका छन् । समितिका सदस्यमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल छन् ।
एसोसिएसनले विभिन्न १० बुँदे माग राख्दै परिषद्का अध्यक्षको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गरेको छ । साथै, सोमबारदेखि रिले अनशनसमेत सुरु गरेको छ ।
एसोसिएसनका १० बुँदे माग
- नेपाल स्वास्थ्य व्यवसायी परिषद्विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तथा सम्बन्धित विषयमा प्रत्यक्ष संलग्न व्यक्तिलाई स्वार्थको द्वन्द्व हुने गरी परिषद्मा प्रतिनिधित्व गराउने निर्णय पुनरावलोकन गरी आवश्यक कानुनी प्रक्रिया अपनाउनुपर्ने ।
- स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई सम्बन्धित विषयको निर्णय प्रक्रियामा सहभागी नगराउने र निष्पक्षता कायम गर्न आवश्यक व्यवस्था गर्नुपर्ने ।
- परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट प्रोफेसनललगायत सम्बन्धित पेसागत संघ–संस्थाको कानुनबमोजिम उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने ।
- डेन्टल साइन्सको नियमित प्रक्रियालाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन डेन्टल समुदायको मात्र छुट्टै निर्वाचन हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने ।
- परिषद्का सदस्यको कार्यकाल स्पष्ट गरी कानुनबमोजिम पदावधि समाप्त भएका सदस्यलाई जिम्मेवारीमा निरन्तरता नदिने व्यवस्था गर्नुपर्ने ।
- नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १० (४) को व्यवस्था अक्षरशः पालना गर्दै परिषद् सञ्चालन तथा प्रतिनिधिको व्यवस्था गर्नुपर्ने ।
- नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा विभिन्न पेसागत संघ–संगठनबीच विगतमा भएका सहमति तथा सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने ।
- परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सुधार तथा अनुगमनको व्यवस्था गर्नुपर्ने ।
- परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट तथा अन्य सम्बन्धित जनशक्तिको पेसागत हकहित, सम्मान, सुरक्षा र कार्यक्षेत्रको संरक्षण सुनिश्चित गर्नुपर्ने ।
- डेन्टल जनशक्तिको कार्यक्षेत्र, अधिकार तथा अवसरसम्बन्धी निर्णय गर्दा सम्बन्धित पेसागत संघ–संस्थासँग आवश्यक परामर्श र समन्वय गर्नुपर्ने ।








